नेपाली र अँग्रेजी सेनाको भिडन्त काठमाडौंमा, सुरु भयो नालापानी


 

काठमाडौ,१८ चैत

ऐतिहासिक कथामा आधारित चलचित्र ‘नालापानी’को केही दिन यताबाट राजधानीका विभिन्न स्थानहरुमा छायांकन भईरहेको छ । शुक्रबार र शनिबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा यो चलचित्रको छायाँकन गरियो ।

छायाँकनका क्रममा नेपाली सिनेमाका तीन सय भन्दा बढी सैनिकहरु नेपाली र बेलायती सैनिकको भूमिकामा अभिनयरत देखियो । यसै क्रममा शुक्रबार नेपालीसँग युद्द लड्न अंग्रेज फौज आउँदै गरेको दृश्य सो क्रममा खिचियो । जसका लागि नेपाल आर्मीको पचास ओटा घोडा सहित तीन सय हतियार सहितका फौज मैदानमा उत्रिए । सो दृष्यको छायांकनमा पाँच वटा क्यामेरा प्रयोग गरिएको निर्देशक रिमेश अधिकारीले जानकारी गराए । अब यसपछि नेपाली र अँग्रेजी सेनाबीचको युद्ध खिचिने भएको छ ।

निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस्तो प्रकारले चलचित्र छायांकन सम्भव नभएको बताए । चलचित्रका निर्माता मनोज शाक्यले नेपालीको विर गाथासँग जोडिएको चलचित्रलाई नेपाल आर्मीले साथ दिएकोमा खुशी व्यक्त गरे ।

चलचित्र यूनिट काठमाडौ र आसपासमा छायांकन सकिएपछि उपरदाङ्ग गढी पुग्ने बताईएको छ । निर्देशक अधिकारीका अनुसार चलचित्रको छायांकन करिव तीन महिना सम्म लगातार चल्नेछ ।

प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर चलचित्र ‘नालापानी’ बनिरहेको पनि निर्देशक रिमेसले बताएका छन् ।

 

यस चलचित्रमा मजोन शाक्य र नितिशा शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरिरहेका छन् ।

यो चलचित्रको बजेट करिब ९ करोड लाग्ने बताईएको छ । ‘नालापानी’मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्टलगायतका कलाकारहरुको अभिनय छ ।