शम्भु प्रधान र प्रहरी उपरिक्षक बिरुद्ध अदालत जाँदै कृ का निर्माता सुवास


काठमाडौं, १५ चैत

चलचित्र कृ का निर्माता सुवास गिरीले चलचित्र सम्झनाका निर्माता एवम् निर्देशक शम्भु प्रधान र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक बिरुद्व अदालतमा मानहानीको मुद्वा दायर गर्ने बताएका छन् ।

चलचित्र सम्झनाको उकालीमा अघि अघि, ओरालीमा पछि पछि…गीतको दुई लाईन चोरी गरेर नयाँ गीत बनाई चलचित्र कृ मा राखेको आरोपमा उनीे बिरुद्ध शम्भु प्रधानले परिसरमा उजुरी दिएपछि गिरीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा सो गीतको प्रतिलिपि अधिकार हनन् गरेबापत सुवास गिरीले प्रहरी रोहबरमा ११ लाख रुपैयाँको चेक सम्झनाका निर्माता शम्भु प्रधानलाई बुझाएपछि गिरीलाई बुधबार अपरान्ह प्रहरीले हिरासत मुक्त गरेको हो ।

शम्भु प्रधानसँग सो गीतको बारे कुनै पनि आधिकारिक कागज नभएको अबस्थामा प्रहरी महानिरिक्षकको आदेश भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षकले प्रहरी परिसरको हिरासतमै राखेर ११ लाख रुपैयाँको लेनदेन गर्न लगाएको गिरीले बताएका छन् । यसरी प्रहरी हिरासतमा लेनदेन गर्न नपाउने कानून हुँदा हुँदै पनि आफुलाई ११ लाख रुपैयाँ तिर्न बाध्य बनाईएको गिरीले बताएका छन् ।

निर्माता सुवास गिरीले पत्रकार भेटघाट, हेर्नुस् भिडियो रिपोर्ट ः

बिहिबार राजधानीमा यस बिषयमा पत्रकार भेटघाट आयोजना गर्दै गिरीले आफुले सामान्य छलफल भनेर महानगरीय प्रहरी परिसर काठमाडौ बोलाईएको बताए । तर त्यहाँ पुग्ने बित्तिकै मोवाईल खोसेर आफुलाई प्रहरीले थुनेर राखेको घटना सुनाए । आफुलाई फौजदारी अपराधी झैं हतकडी लगाएर स्वास्थ्य परिक्षण गर्न लगिएको र शम्भु प्रधानलाई त्यहाँ उपस्थित नगराएर २४ घन्टा थुनामा लिई ११ लाख रुपैयाँ तिर्न बाध्य तुल्याईएको पनि गिरीले बताएका छन् ।

त्यो गीतको प्रतिलिपि अधिकारका धनी अरु नै रहेको बेला शम्भु प्रधानको उजुरीको भरमा उनको कम्पनीको कुनै आधिकारिक प्रमाण र कागजपत्र बिना आफुलाई शम्भु प्रधान भन्ने व्यक्तिको नाममा ११ लाख रुपैयाँको चेक काट्न बाध्य तुल्याएको पनि निर्माता गिरीले बताएका छन्,‘प्रहरी हिरासतमा आर्थिक कारोबार गर्न पाईँदैन् । तर मलाई २४ दिनसम्म थुनेमा राखेर अदालत लैजाने भन्दै प्रहरीले मानसिक यातना दिँदै तर्साएपछि पटक पटकको बर्गेनिङ पछि ११ लाख रुपैयाँसम्म दिए मिल्ने कुरा उनीहरुले गरे । यो गीत शम्भु प्रधानकै हो भन्ने के प्रमाण छ भन्दै प्रधानको फिल्म कम्पनीको कागजपत्र मैले पटक पटक माग्दा पनि मलाई हेर्न नदिई उनको नाममा ११ लाख रुपैयाँको चेक काट्न लगाएर बल्ल छाडियो ।‘

सोही कारण आफु मानहानी मुद्वामा अदालत जाने र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक र शम्भु प्रधानलाई बिपक्षी बनाएर मुद्वा दायर गर्ने पनि उनले बताए ।