ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ फागुन
यौन मनोविज्ञानमा आधारित चित्रकार कपिलमणि दिक्षित र रोशन भण्डारी अहिले ललितपुरको सानेपामा अवस्थित म्युजिक आर्ट ग्यालरीमा संयुक्त कला प्रदर्शनी गरिरहेका छन् । ‘काउन्टर्स अफ टु’नाम दिइएको उक्त प्रर्दशनी फागुन ९ गतेदेखि चैत्र ७ गतेसम्म चल्नेछ ।
प्रदर्शनी केवल क्यानभासहरुको प्रदर्शनीमात्र नभई दुई कलाकारहरुको एक दशकको समानान्तर सिर्जनात्मक यात्राहरुको सँगम मान्न सकिन्छ । फरक शैलीमा काम गरे पनि उनीहरूको कला स्मृति, अनुभूति र समयका तहहरूमा एउटा भाव भेटिन्छ। प्रदर्शनीमा राखिएका कलाहरू स्मृति निष्क्रिय भावुकता होइनस बरु रङ, इशारा र मौनतालाई आकार दिने सक्रिय ऊर्जा हो। प्रत्येक क्यानभास स्मरण र क्षणिक अनुभूतिलाई रूपान्तरण गर्ने स्थल बन्छ, जहाँ दर्शकलाई केवल हेर्न होइन, रङहरूको फुसफुसाहट सुन्न पनि आमन्त्रण गदर्छ ।
दिक्षितका कृतिहरु निर्भीक र स्वतन्त्र छन्। उनका रेखाहरू स्पष्ट, रङहरू गहिरा र सशक्त छन् । प्रारम्भिक चरणमा शारीरिक संरचनाको सूक्ष्म अध्ययनमार्फत यथार्थपरक स्त्री आकृतिहरू निर्माण गरेका उनले समयसँगै भाषालाई संक्षिप्त र सारमुखी बनाएका छन्। आज एउटा लामो आँखा वा तीखो नाकले सम्पूर्ण उपस्थिति जनाउन सक्छ। वर्णनभन्दा संकेत सशक्त भएको छ, सजावटभन्दा सार अर्थपूर्ण छ। उनका सतहहरूमा प्रक्रियाको स्पर्शीय स्मृति प्रस्ट देखिन्छ,जहाँ ब्रस कहिलेकाहीँ हातमै रूपान्तरित हुन्छ र चित्रकला हातका इशारामा तयार हुन्छन् । रोशन भण्डारीका रङहरूले वस्तु होइन, अनुभूतिको परिवेश निर्माण गर्छन् ।
बाल्यकालका स्मृति, आधा–बिर्सिएका वाक्यांश र सांस्कृतिक प्रतिध्वनिहरू विस्तारै प्रकट हुन्छन्,जसलाई धैर्यपूर्वक नियाल्दा मात्र कुहिरोभित्र चम्किने कथा झैँ अनुभूति गर्न सकिन्छ। शैलीगत भिन्नताका बाबजुद यी दुई कलाकारबीच मौन दृश्य–संवाद चलिरहेको छ । व्यक्ति र समाज, परम्परा र परिवर्तन, बोली र मौनताबीचका संवादहरू उनीहरूको कृतिमा परावर्तित छन् । प्रदर्शनी वस्तुहरूको व्यवस्थाभन्दा बढी रङमा लेखिएको साझा डायरीझैँ लाग्छ—जहाँ कलात्मक पहिचानको क्रमिक विकास अंकित छ ।
कलाकार भण्डारीले भारतीय विद्यापीठ कलेज अफ आर्टस् मा इन्डियन काउन्सिल फर कल्चरल रिलेशन छात्रवृत्तिमा अध्ययन गरेपछि त्रिभुवन विश्वविद्यालयबाट ललितकलामा स्नातकोत्तर पूरा गर्दै २०१२–१३ मा फ्याकल्टी टपर बने। उनको अभ्यास शैक्षिक कठोरता र काव्यात्मक संवेदनशीलताको सन्तुलन हो। नेपाली लोककथा र मौखिक परम्परालाई समकालीन अमूर्त भाषामा पुनःव्याख्या गर्ने उनको प्रयासले नेपाल, भारत, इटाली, बंगलादेश र फिलिपिन्ससम्म अन्तर्राष्ट्रिय संवाद विस्तार गरेको छ।
कपिलमणि दिक्षित युनिभर्सिटि अफ टेक्सस अमेरिकाबाट सन् २००४ मा ललितकलामा स्नातक गरेपछि २००८ मा नेपाल फर्केर समकालीन सन्दर्भमा आकृतिमूलक तथा न्यूड कलालाई स्थापित गर्ने साहसी पहल गरे। सामाजिक हिचकिचाहटका बीच उनको निरन्तरता नै मौन प्रतिरोध बन्यो। उनले आकृतिमूलक कला शिक्षामा उल्लेखनीय योगदान पु¥याउँदै नयाँ पुस्तालाई मार्गदर्शन गरिरहेका छन्। चार दशक नजिकको अभ्यास र ४० भन्दा बढी पुरस्कारहरूले उनको प्रभाव क्यानभासभन्दा बाहिर पनि फैलिएको देखिन्छ ।
कलाकार मुक्ति सिंह थापा भन्नुहुन्छ, ‘‘हाम्रा परम्परागत चित्रकलाहरु, मठमन्दिरमा राखिएको टुँडालहरुलाई हामी सामान्य रुपमा लिन्छौं भने कुनै कलाकारले स्वतन्त्र रुपमा त्यही विषयलाई अनुभूतिसँग जोडेर क्यानभासमा निकाल्छ भने किन त्यसलाई हेयको दृष्टिले हेर्नेरु’समाजमाथि उनको प्रश्न थियो । त्यस्तै तारागाउँ नेक्स्टका डिरेक्टर रोशन मिश्र भन्नुहुन्छ – ‘कलाकार रोशन भण्डारी र कपिलमणि दिक्षितको काममा अन्तरमनका भावनाहरु प्रस्फुटित भएको पाउँछु । हाम्रो नेपाली भूगोलको ल्यान्स्केपहरु दिक्षीतको रेखामा भेट्दछु भने केन्द्रमा कुनै आकृति राखेर तयार गरिएको भण्डारीको काममा यदि त्यो आकृति नहुँदो हो भने अमूर्ततालाई कति व्यक्तिले भावनासँग जोडेर हेर्नसक्थे होलान् ।’
यी दुई समानान्तर इतिहासहरू काउन्टर्स अफ टु मा एकअर्कामा प्रतिध्वनित हुन्छन् । यहाँ समय पात्रोले होइन, अनुभवले नापिन्छस प्रत्येक स्ट्रोकमा वर्षौंको अभ्यास र प्रत्येक रङमा ऋतुहरूको संशय मिसिएको छ। प्रदर्शनी सौन्दर्य–अनुभूतिको प्रस्तुति मात्र होइनस कलात्मक विकासलाई साझा मानवीय प्रक्रियाका रूपमा बुझ्ने आमन्त्रण हो। दुई कलाकारबीचको मौन तर सशक्त संवाद ग्यालरीको सीमाभन्दा बाहिर फैलिँदै समकालीन नेपाली कलाक्षेत्रमा दीर्घ प्रतिध्वनि सिर्जना गरिरहेको छ । समय र रङबीच निरन्तर चलिरहने संवाद झैँ जल्दैछ ।


