बरिष्ठ कलाकार सुनिल थापाको निधन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ माघ

नेपाली चलचित्र उद्योगका वरिष्ठ अभिनेता तथा ‘राते काईँला’ नामले परिचित सुनिल थापाको निधन भएको छ । उनको शनिबार बिहान ६८ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको छ । बिहान चलचित्र छायांकनको लागि नउठेपछि सहयोगीले उठाउन जाँदा उनी बेहोस थिए । तत्कालै नर्भिक अस्पताल थापाथलीमा ल्याउँद उनलाई अस्पतालले मृतक घोषणा गरेको हो ।

स्वास्थ्य स्रोतका अनुसार उनको निधन हृदयाघातका कारण भएको हो। थापाको निधनले नेपाली चलचित्र उद्योग, टेलिभिजन क्षेत्र तथा दक्षिण एशियाली चलचित्र जगतमा गहिरो शोक छाएको छ।

उनको श्रीमाति छोरा र छोरी मुम्बईबाट शनिबार बेलुकासम्म काठमाडौँ आईपुग्ने छन् । त्यसपनि उनको अन्त्यष्टी गरिने भएको छ ।

सुनिल थापा नेपाली चलचित्रमा खलनायक तथा चरित्र भूमिकाका लागि चर्चित कलाकार थिए। उनले ३०० भन्दा बढी नेपाली, हिन्दी तथा अन्य भाषाका चलचित्रमा अभिनय गरेका थिए।  सुनिल थापाले भारतीय चलचित्र उद्योगमा पहिलो पटक ‘एक दूजे के लिए’ (१९८१) बाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि उनी नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरे। नेपाली चलचित्र ‘चिनो’ २०४८ सालमा ‘राते काईँला’ नामक खलनायक पात्रको भूमिकाले उनलाई व्यापक चर्चामा ल्यायो। यही पात्रका कारण उनी नेपाली चलचित्रमा शक्तिशाली खलनायक अभिनेताका रूपमा स्थापित भए।

त्यसपछि उनले चर्चित चलचित्रहरूमा ‘राँको’ ‘देउकी’, ‘प्रभिशा’, ‘ठूल्दाइ’, ‘आगो’, ‘तन त सराई बिग्रिस नि बद्री’, ‘यो मायाको सागर’, ‘जेठो कान्छो’, ‘बसन्त ऋतु’, ‘कर्म योद्धा’ लगायतमा काम गरे । यसैगरी पछिल्लो समय उनले ‘मुखौटा’, ‘द सोल्जर’, ‘ए मेरो हजुर ३’, ‘अञ्जिला’ जस्ता चलचित्रहरूमा समेत अभिनय गरेका थिए ।

उनी पछिल्लो समय ‘राम नाम सत्य’ चलचित्रको छायांकनमा व्यस्त थिए । उनले नेपालीसँगै हिन्दी, तमिल, भोजपुरी र तेलुगु भाषाका चलचित्रमा समेत अभिनय गरेका थिए। सुनिल थापा केवल अभिनेता मात्र नभई चलचित्र शिक्षा र संस्थागत विकासमा पनि सक्रिय थिए। उनी ‘एभरेस्ट फिल्म एकेडेमी’का अध्यक्षका रूपमा कार्यरत थिए।