ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ माघ
महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। ग्रामीण परिवेशमा आधारित यस सिनेमाले पारिवारिक स्नेह, मिलन र साना–साना नोकझोंकलाई संवेदनशील ढंगले प्रस्तुत गर्दै दर्शकमाझ उत्साह थपेको छ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय रहेको छ। सिनेमाको निर्माण रुबी सेन सिंहले गरेकी हुन्।
काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रहरूको चाहना, अपेक्षा र द्वन्द्वलाई प्रभावकारी रूपमा उजागर गर्छ। सिनेमाकी मुख्य पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखिएको ट्रेलरले सानो ‘बुकुरो’ (घर) बनाउने सपना, छोराहरूको विवाह र उनीहरूको खुसीप्रतिको मातृत्वपूर्ण आकांक्षालाई भावुक ढंगले चित्रण गरेको छ।
करिब ३ मिनेट ३३ सेकेन्ड लामो ट्रेलरले पात्रको मनोदशा र जीवनयात्रासँगै दर्शकलाई अघि बढाउँछ। मानवीय सम्बन्धका सूक्ष्म पक्षलाई प्रस्तुत गर्दै ट्रेलरले कथावस्तुबारे संक्षिप्त झलकसमेत दिन्छ। सिनेमालाई विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्मक फिल्मका रूपमा प्रस्तुत गरिएको निर्माण टिमको भनाइ छ।
सिनेमाको लेखन तथा निर्देशन सुदीप भुपाल सिंहले गरेका हुन्। निर्देशक सिंह करिब ९ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।
पछिल्लो समय सामाजिक–पारिवारिक कथावस्तुमा आधारित सिनेमाले दर्शकको मन जितिरहेको सन्दर्भमा ‘श्री बुकुरो’ को सरल र आत्मीय कथाले दर्शकको साथ पाउने विश्वास निर्देशक सिंहले व्यक्त गरेका छन्। यसअघि सार्वजनिक टिजर र पोस्टरले समेत दर्शकको राम्रो प्रतिक्रिया पाइसकेका छन्। सार्वजनिक हुने गीतहरूले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ।
सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको सिनेमाको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका हुन्। मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँका विभिन्न स्थानमा सिनेमाको छायांकन गरिएको हो।
सहायक निर्देशकका रूपमा किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा रहेका छन्। सिनेमाका गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत रहेको छ भने शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न पाइनेछ।




