फ्राइडे रिलिजमा ‘पञ्चायत’ र ‘रेड’


 

काठमाडौं, २ चैत

फ्राइडे रिलिज अन्तरगत आजबाट एकै साथ नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र  पञ्चायत र  डेस्टिनेसन काठमाडौंसँगै बलिउड चलचित्र ‘रेड’ प्रदर्शनमा आएको छ । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र पञ्चायत झण्डै ५० वर्ष अघिको पञ्चायत व्यवस्थामा आधारित छ ।

पञ्चायती व्यस्थामा हुने गरेको विभिन्न बर्बर घटनालाई लिएर यो चलचित्र निर्माण गरिएको यसका कार्यकारी निर्माता रवि अधिकारीले जानकारी गराएका छन् । कार्यकारी निर्माता अधिकारीका अनुसार यो चलचित्र शुक्रबारबाट काठमाडौंका १५ र मोफसलका ४८ वटा सिनेमा हलमा रिलिज भएको छ ।

चलचित्रमा सरोज खनाल, नीता ढुङ्गाना, रुपा राना, विशाल पहारीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् भने सुशान्तकुमार श्रेष्ठ र गणेश गिरी लगानीकर्ता हुन् ।

 

यस्तै आधा दशकअघि छायांकन भएर बल्ल तयार भएको अर्को चलचित्र ‘डेस्टिनेसन काठमाडौं’ पनि शुक्रबारबाट मुलुकका विभिन्न सिनेमा हलमा रिलिज भएको छ । यो चलचित्रमा दिलिप रायमाझी, झरना थापा, विकाश चापागाईंसहितको अभिनय छ । यो चलचित्रका निर्देशक दीपक रायमाझीको निधन भएपछि यो डस्टिनेसन काठमाडौं रोकिएको थियो । यसलाई निर्माण पक्षले बल्ल पूरा गरेर सिनेमा हलमा ल्याएको छ ।

बलिउड चलचित्र ‘रेड’ पनि प्रदर्शनमा आएको छ । राजकुमार गुप्ताले निर्देशन गरेको यस चलचित्रमा अजय देवगन, इलियाना डिक्रुज र सौरभ शुक्लाको मुख्य भूमिका रहेको छ । चलचित्रमा अजय देवगन एक इमान्दार र कडा स्वभावको आयकर विभागको अधिकारीको भूमिकामा देखिएका छन् भने इलियाना उनकी पत्नीको भूमिकामा देखिएकी छिन् । यस्तै सौरभलाई खलनायकको भूमिकामा देख्न सकिन्छ । भूषण कुमार, कृषण कुमार, कुमार मंगत र अभिषेक पाठक चलचित्रका निर्माता हुन् ।