चौका दाउमा छानिए चार जुवाडे पात्र


काठमाडौं, १ चैत

आगामी बैशाखबाट छायाँकन हुने चलचित्र चौका दाउका लागि चार जुवाडे चरित्र चयन भएका छन् । यी चार जुवाडे चरित्रहरुमा अग्रज हास्यव्यँग्य कलाकारहरु सन्तोष पन्त, तैयब शाह र अहिलेका चर्चित कलाकारहरु विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा छन् ।

यो चलचित्रमा निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ सहित विभिन्न कलाकार बिशेष भूमिकामा रहने छन् । चलचित्रका नायक, नायिका र बाँकी कलाकारको चयन क्रम जारी छ ।

 


अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको जन्मदिनको अबसर पारेर बिहिबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको निर्माणको औपचारिक घोषणा गरियो । बासकोटाकै कथा र संगीत रहेको यो चलचित्रलाई उनकै छोरा सौर्यजीत बासकोटाले निर्माण गर्न लागेका हुन् ।

चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गर्दैछन् । चौका दाउ हास्यप्रधान प्रेमकथामा आधारित चलचित्र भएको बताए । यस अघि राजनीतिक चलचित्र संरक्षण निर्देशन गरेका झाले आफ्नो पहिलो चलचित्र भन्दा यो फरक हुने जानकारी गराए ।

घोषणा समारोहमा आफ्नो जन्म दिनको केक काट्दै अग्रज संगीतकार बासकोटाले यो मनोरञ्जन प्रधान समाजिक चलचित्र हुने बताए । यस अघि आठ ओटा चलचित्रमा कथा लेखिसकेका बासकोटाले चौका दाउ आफ्नो कथामा निर्माण हुन लागेको नवौं चलचित्र भएको जानकारी गराए । जुवामा सबै भन्दा ठुलो दाउ चौका दाउ हुने भएकाले चलचित्रको नाम चौका दाउ जुरार्ईएको पनि उनले बताए । बैशाखबाट छायाँकन सुरु गरिने यो चलचित्रलाई आगामी तिहारमा रिलिज गरिने बासकोटाले जानकारी गराए ।

 

भिडियोमा चौका दाउको घोषणा कार्यक्रम ः

 

घोषणा सभामा बोल्दै अग्रज कलाकार सन्तोष पन्तले कथा ससक्त र रमाईलो रहेकाले आफुले यो चलचित्रमा अभिनय गर्न लागेको बताए । अर्का कलाकार विल्सन बिक्रम राईले नेपाली संगीत क्षेत्रका अग्रज श्रष्टा शम्भुजीत बासकोटाको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको छ भने । अग्रजहरुसँग काम गर्दा सिक्न पनि पाईन लोभ पनि लागेको उनले बताए ।

 

यो चलचित्रका निर्माताहरुमा मनोजराज भण्डारी र सौर्यजीत बासकोटा छन् । जसमा शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, दीर्घ गुरुङको छायाँकन रहने छ ।

यस्तै चन्द्र पन्तको द्वन्द्व निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण व्यबस्थापन र नरेन्द्र खड्काको निर्माण सुपरिवेक्षण रहेको पनि घोषणा सभामा जानकारी गराईयो ।