बल्ल मिडियामा आए सन्तोष, बलिदानबारे यसो भन्छन


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असोज

रिलिजको मुखमा रहेको चलचित्र बलिदानको निर्माण पक्षले अहिलेसम्म कुनै कलाकार प्राविधिकलाई मिडियामा सार्वजनिक गरेको छैन ।भारतमा पोष्ट प्रोडक्सनको काम सकेर बल्ल नेपाल फर्केका यो चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले आफ्नो मिडियो संयोजक मार्फत चलचित्रको बारेमा केही बताएका छन् । उनले आफ्नो चलचित्र नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको दाबी गरेका छन् ।

लिदानका निर्देशक तथा निर्माता सन्तोष सेनले चलचित्रप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन्। उनले यस चलचित्रलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन् ।

स्मरण रहोस यो दसैँमा बलिदान सहित हरिबहादुरको जुत्ता र माइतीघर गरी तीन वटा नेपाली चलचित्र एकसाथ जुध्ने भएकाले बक्स अफिसमा दह्रो प्रतिस्पर्धा हुने पक्का छ । तर पनि सन्तोष आफ्नो फिल्म उत्कृष्ट भएको दाबी गर्छन,’हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो चलचित्र पर्दामा आउन लागेको हो। यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो’

निर्देशक सेनले बताए, ‘चलचित्रलाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ। हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछन्। साथै, चलचित्रले राजनीतिक कुटिलताले आम जनतालाई कसरी बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देश पनि दिन्छ।’

सेनले ’बलिदान’को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गर्दै भने, ‘हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ। यी दुवै नै हाम्रो जीवनका आधार हुन्। यही आधारलाई चलचित्रमा समेटिएको छ। चलचित्र हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन्।’

गत शुक्रवार सार्वजनिक गरिएको ’बलिदान’को ट्रेलरले नेपाली चलचित्र क्षेत्रमा चर्चा ल्याएको छ। चलचित्रले ट्रेलरमार्फत झन् ठुलो अपेक्षा निर्माण गरेको सन्तोषको कथन छ। ट्रेलरमा एक आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य देखिन्छ। त्यसपछि दर्शकले प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ, जसमा उनले देशप्रतिको सङ्कल्प र आमाप्रतिको ममतामा आधारित  संवाद प्रस्तुत गरेका छन्। सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। समीर र सौगातबीचको द्वन्द्व, तीव्र एक्सन दृश्य, दर्जनौँ खलनायकहरूसँगको लडाइँ, संवाद र  ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई आकर्षक बनाएको छ ।

’आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

असोज १३ गते आउने ’बलिदान’लाई नेपाली चलचित्र इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने दाबी सन्तोषको छ । निर्देशक सेनले यसलाई केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका छन् । ’बलिदान’ हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउने उनको दाबी छ ।