फिल्मको सम्बादका कारण नायिका उर्वसीलाई मार्ने धम्की


 

मुम्बई, एजेन्सी, २७ फागुन

बलिउड अभिनेत्री उर्वसी रौटेलाले आफुलाई मार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेकी छिन् । फिल्म ‘हेट स्टोरी ४’मा आफुले बोलेको एउटा सम्बादका कारण मार्ने धम्की आएको भन्दै उनले प्रहरीसँग सुरक्षाको माग गरेकी छिन् ।

फिल्म हेट स्टोरी ४ को गत ९ फेब्रुअरीमा रिलिज भएको टिजरको एउटा सम्बादमा यी नायिकाले भनेकी छिन्,‘दौपदीका त पाँच पाण्डब थिए । यहाँ त सिर्फ दुई जना मात्र छन् ।’ एकै समय दुई नायकसँग सम्बन्ध राख्ने क्रममा यी अभिनेत्रीले फिल्ममा यस्तो सम्बाद बोलेकी छिन् ।

 

उनको यो सम्बाद धेरैलाई मन परेन । जस मध्य केहीले उनलाई मार्ने धम्की समेत दिएका छन् । केही सोसियल मिडियामा उनको यो सम्बादलाई ट्रोल बनाएर भाईरल तुल्याईएको छ ।

यसै बिषयमा अभिनेत्री उर्वसीले सञ्चारमाध्यमसँग भनेकी छिन्,‘फिल्मको एक सम्बादका कारण मलाई मर्ने धम्की दिँदा यतीबेला म आफैं छक्क परेकी छु । यस अघि पद्मावत फिल्मका लागि सञ्जयलिला भन्सालीलाई मार्ने धम्की दिएका थिए, यतीबेला हाम्रो फिल्मलाई लक्षित गरेर मलाई ज्यान लिने धम्की दिएका छन् ।’

यो बिषयमा प्रष्ट पार्दै उनले भनेकी छिन्,‘दर्शकले के बुझ्नु पर्यो भने हामीलाई निर्वाह गर्न दिईएको भूमिकामा फिल्मका लागि हामीले यस्ता सम्बाद बोल्छौं । त्यो मैले व्यक्तिगत रुपमा बोलेको हैन ।’ फिल्मका लागि लेखिएको सम्बादलाई आफुहरुले बोल्नु पर्ने दायित्व रहेको पनि उनले बताएकी छिन् ।

अभिनेत्री उर्वसीले रिलको कुरालाई लिएर रियल लाईफमा मानसिक तनाव सहित यस्तो धम्की नदिन अनुरोध गरेकी छिन् । त्यसलाई फिल्मको सम्बादको रुपमा मात्र हेरिदिन आग्रह गरेकी छिन् ।