नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा डिग्री माईला


ब्युटी न्युज नेपाल
काठमाडौं, २० चैत

चलचित्र ‘डिग्री माइला’ सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि यही ३० चैतमा नै रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज हुने जानकारी दिएको हो । सिनेमालाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ । निर्माणपक्षले दिएको जानकारी अनुसार सिनेमा अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।

अष्ट्रेलियामा बाईअनलाईनटिकेट डट कम डट एयुबाट यो चलचित्रको टिकट काट्न सक्नेछन् । यसैगरी यो अमेरिकाका ४० बढि शहरमा रिलिज हुँदैछ। त्यहाँ ‘डिग्री माइला’को करिब ४ सय शोहरु हुने जानकारी निर्माणपक्षले दिएको छ।

डिग्री माईलाको ट्रेलरमा शिक्षित बेरोजगारको कथा

रामबाबु गुरुङ निर्देशित सिनेमाले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । यो चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा जोडी बनेका छन् । सिनेमामा उनीहरुको अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको छ । यो चलचित्रमा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतको पनि प्रमूख भूमिका रहेको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।