डिग्री माईलाको ट्रेलरमा शिक्षित बेरोजगारको कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ चैत

आँचल शर्मा र दयाहाङ राई जोडी बनेको चलचित्र ‘डिग्री माइला‘को ट्रेलर रिलिज भएको छ । शुक्रबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्र एक मुठी बादलको छायाँकनमा पोखरा रहेकी आँचल यो चलचित्रको ट्रेलर रिलिज समारोह भ्याएर बेलुका पनि पोखरा फर्किएकी छिन् ।

यता मनसाराको काममा व्यस्त दयाहाङ पनि समय निकालेर यो चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा उपस्थित भए ।

यो चलचित्रको ट्रेलर करिब तीन मिनेटको रहेको छ । ट्रेलर अनुसार यो चलचित्रमा दयाहाङलाई तेश्रो श्रेणीमा स्नातकोत्तर पास गरेको र उच्च जागिरको खोजीमा रहेको पात्रको रुपमा प्रस्तुत गरिएको छ । उनको प्रेमिकाको रुपमा आँचल छिन् । आँचलको बुबाको कलेजमा अँग्रेजी पठाउन शिक्षकको रुपमा प्रस्ताव गर्दा दयाहाङले नमानेपछि दयाहाङ र आँचलबीचको सम्बन्ध चिसो भएको ट्रेलरमा उल्लेख छ ।

ट्रेलर हेर्दा यो चलचित्र हास्यप्रधान बनेको छ । दयाहाङका हरेक सम्बादले दर्शकलाई हँसाउँछ । उनी पढेलेखेको शिक्षित पात्रको रुपमा यसमा प्रस्तुत छन् ।

केही वर्ष अघि मण्डला थिएटरमा दयाहाङको निर्देशन डिग्री माईला नाटक मञ्चन गरिएको थियो । सोही नाटकलाई केही परिवर्तन गरेर यो चलचित्र तयार गरिएको यसका निर्देशक रामबाबु गुरुङले ट्रेलर रिलिज समारोहमा जानकारी गराए ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् र सुस्मा फिल्मसको व्यानरमा निर्मित यो चलचित्रमा दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । यस्तै अभिनेत्री ऋचा शर्मा अतिथि भूमिकामा छिन् । ‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई सिनेमाले आफ्नो ट्यागलाइन बनाएको छ । सिनेमा आगामी चैत ३० गते रिलिज हुनेछ । निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको सिनेमामा शिवराम श्रेष्ठ र राइली एसशिनको छायाँकन रहेको छ ।