नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन विजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ चैत

चलचित्र भवन सञ्चालक र चलचित्र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघमा प्रदर्शक नरेन्द्र महर्जन अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार अबेर राती सम्पन्न निर्वाचनमा प्रत्यसी कुवेर शर्मालाई हराउँदै महर्जन अध्यक्ष चयन भएका हुन् ।

काठमाडौंको कान्तिपथमा शनिबार सम्पन्न नेपाल चलचित्र संघको ४९ औं वार्षिक साधारण सभा तथा चुनावी अधिवेशनमा अध्यक्षका लागि महर्जन र शर्माको उम्मेदवारी परेको थियो । जसमा १०६ मत प्राप्त गर्दै नरेन्द्र महर्जन २ वर्षका लागि नेपाल चलचित्र संघको अध्यक्षमा निर्वाचित भए । कुवेर शर्माले जम्मा ४६ मत मात्र प्राप्त गरेका थिए ।

सो अधिवेशनबाट नेपाल चलचित्र संघका सदस्यहरुमा छविराज ओझा, कपिलप्रसाद द्धा, गोपालकाजी कायस्थ, गोविन्द शाही, करण श्रेष्ठ, देबेन्द्र खड्गी, प्रज्वल राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, दिप्रश शाक्य, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा, नीरज गुप्ता चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष महर्जनका अनुसार संघको बाँकी पदाधिकारीको पद चयन आईतबार बस्ने संघको बैठकबाट गरिने भएको छ । नयाँ कार्यसमितिको सो बैठकले हाल निर्वाचित सदस्यहरुबाटै उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पदाधिकारी चयन गर्नेछ ।