रँगेलीको प्रिमियरमा दयाहाङ–मिरुनाले वाहवाही


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ फागुन

चलचित्र रँगेलीको बुधबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ । प्रिमियरमा यो चलचित्रको सकरात्मक प्रतिक्रिया पाएको छ ।

यो चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको उपस्थितिले पनि प्रिमियर रमाईलो भयो । निर्धारित समय भन्दा केही ढिला प्रिमियरमा फिल्म प्रदर्शन भए पनि राती ११ बजेसम्म सिनेमा हेरेपछि सिनेकर्मीदेखि सञ्चारकर्मीसम्मले सकरात्मक प्रतिक्रिया दिए । यस अघि चलचित्रको प्रचार प्रचारमा उपस्थित हुन नसकेका दयाहाङ र मिरुना भने रुकुमको तक्सेराबाट रँगेलीको प्रिमियरका लागि काठमाडौं आइपुगेका हुन् ।

यो चलचित्र शुक्रबार २५ फागुनबाट रिलिज हुने भएको छ । यसलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । फिल्मको लेखन पनि उनकै हो । प्रिमियरमा चलचित्रको क्लाइमेक्स र यसको अन्त्यमा सबैले वाह वाही गरेका थिए । अप्रत्याशित रूपमा अन्त्यमा आउने पात्र (आर्यन सिग्देल)को दमदार केमियोले व्यापक ताली पायो ।

प्रिमियरमा सहभागी हुँदै दयाले भने,‘हामी मङ्गलवार राती ११ बजेतिर मात्र रुकुमबाट हिँडेका थियौँ । मिरुना २ दिनदेखि बिरामी थिइन् । बाटोमा विभिन्न समस्याहरू झेल्दै प्रिमियरकै लागि भनेर अनिदो अवस्थामा आइपुगेका छौँ । यो चलचित्रबाट निकै आशा छ ।’ एउटै भूमिकामा देख्दै आएका दर्शकले आफूमा नयाँ चरित्र देख्ने बताउँदै दयाले आफूले सधैँ पात्रको इमोशन र दर्शकलाई कनेक्ट गराउने प्रयास गर्ने गरेको बताए,‘यसमा पनि मैले सोही कोसिस गरेको छु । मेरो चरित्रमा आफू पावरमा आउनको लागि गरिएका कामहरू र मानवताको प्रदर्शन छ’, उनले बताए ।

बिरामी र अनिद्रामा रहेकी मिरुनाले चलचित्र हेर्न थालेपछि निद्रा सबै हराएको प्रतिक्रिया दिइन् । चलचित्र हेरिसकेपछि मिरुनाले दयालाई फरक भूमिकामा हेर्दा गज्जब लागेको बताइन् । उनले शालीन जुनकिरी (मिरुना)बाट शक्तिशाली जुनकिरी बन्दै जाने यो चलचित्रको स्क्रिप्ट पढ्ने बित्तिकै काम गर्न उत्साहित भएको स्मरण गरिन् ।

चलचित्रका निर्देशक सुवेदीले आफूले चलचित्रमा भन्न खोजेको विषयलाई इमानदारीताका साथ ‘रङ्गेली’मा प्रस्तुत गरेको बताए । प्रिमियरमा हेर्नेहरूबाट प्राप्त प्रतिक्रियाबाट आम दर्शकको रोजाइमा यो चलचित्र पर्छ भन्नेमा विश्वास रहेको उनले जनाए ।

यसमा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।