भूकम्प पिडितको उद्धार जारी, जनप्रतिनिधि र सुरक्षाकर्मी परिचालित, भेरी अस्पताल तयारीमा


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जाजरकोट जिल्ला अस्पतालमा भूकम्पबाट घाइते भई उपचाररतको अवस्थाबारे जानकारी लिनुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय/रासस

रासस
काठमाडौँ, १८ कात्तिक

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा वेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म भूकम्पमा परेर एक सय २९ को मृत्यु भइसकेको छ भने एक सय ४० जना घाइते भएको विवरण प्राप्त भएको छ । अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उहाँले बताउनुभयो । जाजरकोट केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रुपमा पूर्णतयारी गरिएको छ । “अस्पताललाई उपचारका लागि डेडिकेटेड अस्पताल बनाइएको छ । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेको आफन्तजनको सहजताका लागि पनि ‘फोकल पर्सन’का रुपमा नरेश श्रेष्ठलाई तोकिएको छ”, उहाँले भन्नुभयो ।

घाइतेको उपचारका लागि कोहलपुरमा रहेको मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको पनि प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ । बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेडसमेत तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।

प्रजिअ पोखरेलेका अनुसार हेलिकोप्टरबाट ल्याइने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ । हाल अस्पतालहरुमा रगतको मौज्दात रहेको बताउँदै उहाँले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताउनुभयो ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले अस्पतालको नयाँ भवनको भुइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताउनुभयो ।

कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा तीन सय २० जनाको प्रहरी टोली परिचालन गरिएको छ । जाजरकोटमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा चार सय ५० जनाको सुरक्षा फौज परिचालन भएको छ । कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ । यस्तै डिआइजिपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताउनुभयो । अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुग्नुभएको छ । उहाँले त्यहाँ पुगेर उद्धार र राहतमा जुट्न आह्वानसमेत गर्नुभएको छ ।