गायक रामकृष्णले ल्याए ’काली’


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ साउन

मेलोडी स्टार रामकृष्ण ढकालले आफ्नो स्वर र अभिनयमा नयाँ गीत ‘काली’ को भिडियो सार्वजनिक गरेका छन् । काठमाडौंमा बिहीवार एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीत वियोगान्त भावको छ । दीपक शर्माको संगीत र चिन्तामणी सिवाकोटीको शब्द रचना रहेको गीतका एरेन्जर पुरुषोत्तम सुवेदी हुन् ।

सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा गायक ढकालले पनि अभिनय गरेका छन् । उनीसँगै अभिनेत्री नम्रता सापकोटा, मोडल दिपेश ढकाल र दिपेन गौतम माइकलको पनि अभिनय छ । भिडियोमा नम्रता सापकोटा प्रेमलाई हलुका रुपमा लिएको पात्रको रुपमा प्रस्तुत छिन् । अगाध माया गरेको मान्छेले धोका दिँदा मनमा उत्पन्न भावलाई गीतमार्फत् व्यक्त गरिएको छ ।

गीतको भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर र साइव्रत आचार्यको स्टोरी बोर्ड रहेको छ । गीत सार्वजनिक कार्यक्रममा गायक ढकालले अडियोअनुसार भिडियो तयार भएकोमा खुशी व्यक्त गरे । यो गीतका शब्दले दर्शकको मनछुने उनको विश्वास छ । उनले भने, ‘मलाई गीतको शब्द सुन्दा नै मन परेको थियो । संगीत उस्तै मीठो सृजना भयो । भिडियोले गीतमा थप सुनमा सुगन्ध थपेको छ ।’

गीतकार सिवाकोटीले भने विगतमा आफूलाई दुःख, झमेला दिने पात्रहरुलाई सम्झिएर गीत लेखेको बताउँदै भिडियो हेर्दा आनन्द महशुस भएको बताए । संगीतकार शर्माले गीतमा रामकृष्ण ढकालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । निर्देशक आचार्यले भिडियो राम्रो बन्न अडियो बलियो हुनुपर्ने तर्क राख्दै ‘काली’ गीतलाई न्याय गर्ने भिडियोमा कुनै कसर नछाडेको बताए । त्यस्तै, अभिनेत्री सापकोटाले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव साट्दै धेरैपछि फरक खालको पात्रमा अभिनय गर्न पाएको खुशी व्यक्त गरिन् ।