आनन्द, धिरेन र मन्जुको मायाँ लाउँदै जाउ रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ असार

अग्रज गायक आनन्द कार्की र भारतीय गायिका साधना सरगमको युगल स्वरमा नयाँ गीत माया लाउँदै जाउ… को भिडियो दर्शकमाझ आएको छ । काठमाडौंको लाजिमपाट स्थित एक होटलमा शनिबार एक समारोहबीच यो गीतको म्युजिक भिडियो सार्वजनिक गरियो ।

यो गीतलाई आनन्द अधिकारीले लेखेका हुन् । जसमा सचिन सिंहको संगित रहेको छ । गीतको भिडियोलाई गायक आनन्द कार्कीको अफिसियल च्यानलबाट रिलिज गरिएको छ । भिडियोमा अभिनेता धिरेन शाक्य र लोक गायिका मञ्जु थापाले अभिनय गरेका छन् ।

गीतको भिडियो निकै आकर्षक बनेको छ । पाल्पाको रानीमहलमा यो गीतको छायाँकन गरिएको छ । पर्यटकीय हिसावले लोकप्रिय मानिएको रानीमहलको प्रचार प्रसारका लागि पनि आफुहरुले त्यहाँ गीतको छायाँकन गरेको अभिनेता धिरेन शाक्यले भिडियो सार्वजनिक कार्यक्रममा बताए ।

गायक आनन्द कार्कीले यो गीत फिल्मी शैलीको मेलोडी युक्त रुपमा तयार गरिएको र यसले दर्शकको मन जित्ने बताए । गीतलाई एक वर्ष अघि नै आफु र साधना सरगमको स्वरमा रेकर्ड गरेको भए पनि कोरोना मत्थर भएपछि बल्ल यसको भिडियो तयार गरेको पनि कार्कीले बताए ।

गीतको भिडियोलाई नृत्य निर्देशक कमल राईले निर्देशन गरेका हुन् । गीत मिठो भएकै कारण आफुले यसमा मोडलिङ गरेको गायिका तथा मोडल मञ्जु थापाले बताईन् । आफु पाल्पाको भएकाले पनि यो भिडियोमा उनले काम गरेकी रहिछन् । धिरेनसँग उनको यो दोश्रो भिडियो रहेछ ।