शान्तिप्रिय र सुरेन्द्र केसीलाई ऋदुई स्मृति सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असार

हास्य अभिनेता किरण केसी (ए राता मकै)ले आफ्नो जन्मदिनको अबसर पारेर मँगलबार दुई जना श्रष्टालाई सम्मान गरेका छन् । उनले अग्रज पत्रकार शान्तिप्रिय र अग्रज हास्य अभिनेता सुरेन्द्र केसी (मुला साग)लाई सम्मान गरेका हुन् ।

अग्रज हास्य अभिनेता किरण केसीले आफ्नी हजुरआमा ऋदय कुमारी केसी, बुबा दुर्गाबहादुर केसी र आमा इन्द्र कुमारी केसीको स्मृतिमा नौ वर्ष कलाकारिता र पत्रकारिता सम्मान स्थापना गरेका हुन् ।

नेपाली कला पत्रकारितामा करिब तीन दशकदेखि निरन्तर योगदान दिएको भन्दै पत्रकार शान्तिप्रियलाई नवौं ऋदुई स्मृति पत्रकारिता सम्मान २०७८ बाट सम्मानित गरिएको हो । शान्तिप्रियलाई उनकै कार्यालय डिल्ली बजारमा पुगेर १० हजार रुपैयाँ र ताम्रपत्र सहितको सो सम्मानबाट सम्मानित गरिएको हो । सम्मानप्रति आभार प्रकट गर्दै यो सम्मानले आफुलाई पत्रकारितामा अघि बढ्ना अझ हौसला मिलेको पत्रकार शान्तिप्रियले बताएका छन् ।

यस्तै अभिनय क्षेत्रमा लामो समय देखि योगदान दिएको भन्दै कलाकार सुरेन्द्र केसी (मुलाको साग) नवौं ऋदुई स्मृति कलाकारिता सम्मान २०७८ बाट सम्मानित भएका छन् । मँगलबार सुरेन्द्र केसीलाई उनकै घरमा पुगेर दोसल्ला ओढाई सम्मान प्रदान गरे । केसीलाई सम्मान स्वरुप १० हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरियो ।

अग्रज हास्य अभिनेता किरण केसीले आफ्नो ६३ औं जन्मोत्सबको अबसर पारेर यी दुबैलाई भेटेर सो सम्मान प्रदान गरेका हुन् । यो सम्मानलाई कलाकार केसीले आफ्नो जन्मदिनको अबसर पारेर हरेक वर्ष १५ असारकै दिन प्रदान गर्दै आएका छन् ।

तीन दशक भन्दा लामो समयदेखि कलाकारिता गर्दै आएका एक कलाकार र दुई दशक भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका एक पत्रकारलाई यो सम्मान प्रदान गरिँदै आएको अग्रज हास्य अभिनेता केसीले बताएका छन् ।