नेत्र एटमले ल्याए कवितासङ्ग्रह प्रिय मौनता


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ चैत

समालोचक नेत्र एटम नयाँ कविता सँग्रहका साथ कविको रुपमा पाठकमाझ आएका छन् । नयाँ कवितासङ्ग्रह “प्रिय मौनता” लिएर उनी पाठकमाझ आएका हुन् ।

यस सङ्ग्रहको कविताहरूलाई कविले “उपसना कविता” भनेर उपनाम दिएका छन् । प्रेमलाई केन्द्रमा राखेर लेखिएको यस सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासानाको आलोक खण्ड छन् । जसमा ६० वटा कविता सङ्ग्रहित रहेका छन् । लामो समयबाट नेपाली साहित्य क्षेत्रमा क्रियाशील रहेका एटमको यो पहिलो कवितासङ्ग्रह हो ।

शनिबार राजधानीमा एक समारोहबीच प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनताको बिमोचन गर्दै यो पुस्तकमाथि आफ्नो विचार राखेका थिए ।

कवि नवीन प्यासीले सञ्चालन गरेको कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले एटमका कविता वाचन गरेका थिए । शिखा बुक्सले बजारमा ल्याएको यस सङ्ग्रहको मूल्य रु ३५० रहेको छ ।