जनकपुरका टेलिभिजन पत्रकारलाई पनि कोरोना


धनुषा. महोत्तरी र सर्लाहीमा भेटिएका ५ जनाको यस्तो छ नालीबेली

ब्युटी न्युज नेपाल
जनकपुरधाम, ३१ बैशाख

बीरगञ्जमा दुई जना पत्रकारलाई कोरोना सँक्रमण भेटिएको बेला यता जनकपुरका पनि एकजना पत्रकारमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

जनकपुरमा मँगलबार सँक्रमित देखिएका ४ जना मध्ये एकजना स्थानीय पत्रकार रहेका छन् । ४० वर्षका उनी जनकपुरको स्थानीय टेलिभिजनमा कार्यरत पत्रकार हुन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ती पत्रकारमा कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अरुको पनि पहिचानसँगै परीक्षणको तयारी गरिएको छ । संक्रमित पत्रकारको सम्पर्कमा अरु धेरै पत्रकार रहेका छन् । यसरी पत्रकारलाई पनि कोरोना संक्रमण देखिएपछि जनकपुरका पत्रकारहरु त्रसित बनेका छन् । 

पत्रकारसँगै एक पुस्तक व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरी ठेगाना भएका ती ३५ बर्षीय पुरुष जनकपुरधामका पुस्तक व्यवसायी हुन् । यता शुक्रबारी बजारमा (एसएसपी कार्यालय) नजिक पुस्तक पसल सञ्चालन गरेका यी पुस्तक पसले र सँक्रमित पत्रकार बीच भेटघाट हुने गरेको थियो । यी दुई मध्ये कोबाट कसलाई सर्यो भन्ने अनुमान गर्न गाह्रो छ ।

यस्तै मँगलबार सँक्रमित भेटिएका महोत्तरीकै १६ बर्षीय बालक क्वारेन्टाइनबाट भागेर आएका थिए । केही दिन अघि भारतबाट आएपछि उनी नगराईन स्थित क्षेत्रीय क्वारेन्टाईनबाट भागेका हुन् । जनकपुरमा बस्दै आएका उनमा पनि कोरोना सँक्रमण पोजेटिम देखिएका छ ।
मँगलबार सँक्रमित भेटिएकी अर्की सँक्रमित धनुषाकी २० बर्षीया महिला मिथिला नगरपालिकाको लालगढ निवासी हुन् । उनी हालै दिल्लीबाट पति र छोरासँग धनुषाको लालगढ आएकी हुन् ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा ५ जना संक्रमितलाई राखिएको छ । धनुषामा संक्रमित देखिएका ४ जना र सर्लाहीका एक जना मानसिक सन्तुलन गुमाएका संक्रमित व्यक्तिलाई राखिएको हो ।

सर्लाही हरपुरका भनिएका सँक्रमित व्यक्ति मानसिक अबस्था गुमाएका व्यक्ति हुन् । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. ३ धनकौलका ४५ वर्षिय एक मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना सक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

मानसिक सन्तुलन गुमाएका यी व्यक्तिको जनकपुरमा स्वाल लिएपछि उनी भागेर घर सर्लाही गएका थिए । सुरुमा यहाँ जनकपुरमा परिक्षण गर्दा नेगेटिभ देखिए पनि काठमाडौंमा परिक्षण गर्दा यी व्यक्तिको कोरोना पोजेटिभ देखिएको हो । घरमा भएका उनलाई जनकपुरको प्रादेशिक अस्पताल ल्याएर आजै आईसोलेसनमा राखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएलगतै संक्रमित व्यक्तिको परिवारमा रहेका पाँच जनालाई क्वारेन्टाइनमा राखिएको र उनिहरुको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर जाँचको लागि पठाइने प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको ट्रयाकिङ्ग गर्ने कार्य भइरहेको प्रजिअ जिसीले बताए । संक्रमित व्यक्ति फेला परिसकेपछि मंगलवार पुरै राति जिल्ला विपद व्यवस्थापन समितिका टिमहरु मिली स्थलगत निरीक्षणसमेत गरी उचित व्यवस्थापन गरी सदरमुकाम फर्केको प्रजिअ जिसीले जानकारी दिए । सर्लाहीमा नयाँ संक्रमित व्यक्तिको मानसिक सन्तुलन बिग्रिएकोले एक ठाउँबाट अर्को ठाउँमा आउने जाने कार्य गरेको हुदाँ कतैबाट संक्रमित भएको अनुमान गरिएको धनकौलका स्थानीयहरुको अनुमान छ ।