कपिलबस्तुमा अरु १० जनामा कोरोना, सँक्रमित १२० पुग्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ बैशाख

कपिलवस्तुमा आज विहान अरु १० जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का १० जनामा कोरोना सँक्रमण पोजेटिभ देखिएको विज्ञप्ति मार्फत जनाएको छ ।

यसरी १० जना आज थपिँदा नेपालमा हालसम्म कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज नयाँ संक्रमितहरुमा १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् ।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य रहेको र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यी सबै सँक्रमित हालै भारतबाट त्यहाँ आएको अशोधरा गाउँपालिकाका प्रमुखले बताएका छन् ।

उनहिरु एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको पनि उनले खुलासा गरेका छन् । सँक्रमित मध्य बुद्धभूमिका दुईजना मध्ये एकजना वडा नंं. ७ मानपुरका र अर्का वडा नं. १० धनकौलीका हुन् । उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लकडाउनकै बीचमा लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका(५ र बुद्धभूमि नगरपालिकामा छिरेका पनि उनले जानकारी गराए ।

गाउँपालिका प्रमुखका अनुसार कोरोना संक्रमित १० जनामध्ये ८ जना यशोधरा गाउँपालिकाको पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा र अन्य २ जना बुद्धभूमि नगरपालिकाको अनिरुद्र पब्लिक मावि बैदौलीको क्वारेन्टाइनमा बसेका थिए ।