बरिष्ट अभिनेता दीपक क्षत्रीको रहस्यमय निधन, आईतबार पोष्टमार्टम हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ मँसिर

बरिष्ट चलचित्र अभिनेता दीपक क्षत्री रहस्यमय निधन भएको छ । शुक्रबार बेलुका चलचित्र इन्काउन्टरको डविङ गरेर घर आई खाना खाएर ढोकामा चुक्कुल लगाएर सुतेका क्षत्री शनिबार दिउँसो आफ्नो कोठामा मृतक भेटिएका हुन् ।

५८ वर्षीय क्षत्री दिउँसोसम्म नउठेपछि उनका छोराले प्रहरी बोलाएर चुक्कुल खोल्न लगाउँदा उनी ओछ्यानमा मृतक अबस्थामा भेटिएका थिए । कलाकार क्षत्रीको शवलाई महाराजगंज स्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । उनको शबको आईतबार पोष्टमार्टम हुने परिवारजनले जनाएका छन् ।

दिवँगत अभिनेता क्षत्रीको श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) र छोरी अभिनेत्री रिस्ता बस्नेत मलेशियामा एउटा कार्यक्रममा छन् । उनीहरु आईतबार बिहान काठमाडौं आएपछि क्षत्रीको पोष्टमार्टम गरिने भएको छ । यस अघि घाँटीको क्यान्सरले पीडित क्षत्री सल्याकृया र किमो प्राविधिको उपचार पछि सो समस्याबाट हालै मुक्त भएका थिए ।

निर्माता अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म छ मायाँ छपक्कैमा बृद्ध नेताको भूमिका निभएका दीपक क्षत्रीको पछिल्लो रिलिज भएको फिल्म यही हो । यो फिल्म यस वर्षको सुपरहिट भएको थियो । चलचित्र दिदीमा नायकको भूमिका निभाएका दीपकले एक सय भन्दाबढी नेपाली चलचित्रमा विभिन्न भूमिकामा सार्थक अभिनय गरिसकेका छन् ।