पाँच दर्जन हलबाट झमक घिमिरेको जीवन काँडाकी फूल


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, २२ कात्तिक

चलचित्र ‘जीवन काँडाकी फूल’ शुक्रबारबाट मुलुकका पाँच दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज भएको छ । साहित्यकार झमक घिमिरेले आफ्नो जीवनीमा आधारित रहेको लेखेको जीवनपरक उपन्यास ‘जीवन काँडा की फूल’ माथि यो चलचित्र आधारित छ । जीवन काँडा की फूलले २०६७ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।

यो चलचित्रमा झमक घिमिरेको सानो उमेरको भुमिकामा अवस्था थापा र युवावस्थाको भुमिकामा रोजिता बुद्धाचार्यले अभिनय गरेका छन् । चलचित्रमा झमकको बहिनीको भुमिका सारिका घिमिरेले, बुबाको भूमिका किसन सुनार र आकाको भूमिका उमा गिरीले निभाएका छन् । चलचित्र घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छयाङ्कन गरिएको हो ।

यो उपन्यासमा घिमिरेले जन्मेदेखि २०६५ सालसम्म देखे भोगेका पीडा, व्यथा, सन्त्रास, अत्यासलाई समावेश गरेकी छन् । आफुलाई निकै मन परेकाले यही पुस्तकमा केन्द्रित रहेको यसको चलचित्र निर्माण गरेका निर्देशक बिनोद बिष्टले ब्युटी न्युज नेपाललाई बताए ।

झमक घिमिरेको कथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत, प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतमको स्वर छ । बद्री चौहान, जुनु गौतम र उमेश सुवेदीले यो चलचित्र निर्माण गरेका हुन् ।