ब्युटी न्युज नेपाल
काठमाडौं, ८ रिपोर्ट

आधा दशक अघि चलचित्र ‘नाई नभन्नु ल २’मा चर्चित बनेको ‘मर्ने कसैलाई रहर हुँदैन…’ गीतका गायक प्रेम परियार त्यसपछि गुमनाम थिए । यी बाल गायक फेरी गायनमार्फत दर्शकमाझ आउँदैछन् ।

गायक परियारले पढाइका कारण र स्वर बदलिएका कारण आफूले केही समय चलचित्रको गीतमा आवाज नदिएको बताए । प्रेमले ‘नाई नभन्नु ल २’ पछि चलचित्र ‘पोई पर्यो काले’मा स्वर दिएका छन् । यो चलचित्रमा समावेश ‘मायाले मलाई…’ गीतको रेकडिङ मँगलबार गरिएको छ । प्रेमले भने,‘यो गीतको शब्द सुन्ने वित्तिकै मन पर्यो । आशा छ, मलाई प्रतिक्षा गर्नुभएका दर्शकहरुले यो गीत मन पराउनुहुनेछ ।’

गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको भन्दै उनले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए । रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।

चलचित्रमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । कमेडी जनरामा निर्माण भएको यो चलचित्रले श्रीमान् ‘काले’ परेपछि एक यूवतीको जीवनमा आउने उतारचढावको कथालाई प्रस्तुत गर्नेछ ।

यो गीतमा चलचित्रका मुख्य दुई कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई अभिनय गराईएको छ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।