रुचाईँदै पुरनको ‘एकादेशको चुरीफुरी’


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

चलचित्र निर्माता, निर्देशक तथा अभिनेता पुरन थापा पछिल्लो समय टेलिसिरियलमा छाएका छन् । उनको लेखन र निर्देशन रहेको कमेडी टेलिसिरियल ‘एकादेशको चुरीफुरी’ डिस होमको रमाइलो टिभीमा हरेक बुधबार राती साढे ९ बजे प्रशारण हुने गरेको छ ।

ओइपिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘एकादेशको चुरीफुरी’मा लय संग्रौला, लक्ष्मी गिरी, रमेश मट्टारे, दमन रुपाखेती, पुरन थापा, मुकुन्द मैनाली, मोहनकृष्ण श्रेष्ठ, मनिषा रायमाझी, कविता खड्का, प्रबेश भट्ट, सुपा खनाल, निशा थापा, सबिता दनाइ, छायाँ भुजेल, अन्जु बिश्वकर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

‘पिरिम पर्या छन्’,‘कान्छीमट्याङ ट्याङ’ र ‘फेरि फेरि’ फिल्मका निर्माता थापा अहिले सानो पर्दामा लागेका हुन् । आफ्नो टेलिसिरियलले पाइरहेको चर्चा र लोकप्रियता प्रति निर्देशक थापा दँग छन् ।

‘दर्शकको अपार मायाका कारण अझ हौसला मिलेको छ,’हालसम्म ४४ भागप्रशारणभइसकेको सिरियलबारे उनले भने,‘सिरियल निरन्तर दर्शकमाझ आइरहने छ । अब नयाँ आयामहरु थपेर अझ रमाइलो बनाउने तयारीमा छु ।’

सुरेश बज्राचार्यको छायांकन, गौतम राज खड्काको सम्पादन, बिनोदकुमार भुजेलको संगीत संयोजन र जीवन पासाको श्रृंगार रहेको सिरियलले नेपाली जनजीवनका सुक्ष्म पक्षहरुलाई हास्यात्मक रुपले प्रस्तुत गर्ने गरेकाले सर्वप्रिय भएको जिकिर निर्देशक पुरनको छ ।