ब्युटी न्युज नेपाल
काठमाडौ, २० साउन

चलचित्र ‘म’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा एक समारोहबीच चलचित्र म को निर्माण घोषणा भएको हो । लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले यो चलचित्र निर्माण गर्न लागेको हो ।

चलचित्र म लाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । यस अघि लघू चलचित्र निर्देशन गर्दै आएका सेनले ठुलो पर्दाको चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन् । कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित यो चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु हुने छ । यो चलचित्रमा विजय लामा, सरिता लामिछाने, रेवती क्षत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइली, बाल कलाकार उनभ श्रेष्ठ र सम्पन्न ढकालको अभिनय रहने छ ।

सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । विजय लामा र सरिता लामिछाने बाहेक यो फिल्ममा अभिनय गर्ने अन्य कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीहरु हुन् । तेन्जिन पाल्देनले यो फिल्म खिच्ने छन् ।

‘म’ मा जितेन लेप्चाको गीत, किरण भुषालको संगीत हुने छ । मका लेखक प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न एकेडेमीले फिल्म निर्माण गर्न लागेको बताए । फिल्म ‘म’ लाई केही पृथक बनाउने प्रयास आफ्नो रहने निर्देशक सेनको भनाई । अभिनेत्री द्वय कुशुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको फिल्ममा अभिनय गर्नका लागि निकै उत्साहित रहेको बताए ।