जात्रै जात्रा सिडनीमात्र २७ शो प्रदर्शन


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असार

नेपाली चलचित्र जात्रै जात्राले नेपालमा आफ्नो प्रदर्शनीको चार साता पुरा गरेको छ । यो फिल्म शुक्रबारबाट पाँचै हप्तामा प्रदर्शन हुँदैछ । नेपाल जस्तै यो फिल्मले बिदेशमा पनि सर्वाधिक सफल ब्यापार गरिरहेको छ ।

यो चलचित्रका अभिनेता रविन्द्र सिंह वानियाँ, अभिनेत्री वर्षा राउत र निर्देशक प्रदीप भट्टराई अष्ट्रेलियामा एक सातासम्म नियमित फिल्म प्रदर्शन गरेर काठमाडौं फर्किएका छन् ।

आफ्नो फिल्म एक सातामा मात्र नियमित रुपमा अष्ट्रेलियाको सिड्नीमा २७ शो प्रदर्शन भएको निर्देशक भट्टराईले जानकारी गराएका छन् । अष्ट्रेलियामा फिल्मको व्यापारबारे निर्देशक भट्टराईले ब्युटी न्युज नेपालसँग भने,‘सिड्नीमा एक सातामा मात्र २७ शो प्रदर्शन भयो भने यो साता सिड्नीमा अरु पाँच शो बुक भईसकेको छ । यस्तै अष्ट्रेलियाको मेलवर्न सहित अरु विभिन्न शहरमा अहिले बुक भएको शोहरु हेर्दा अझै ५० शो प्रदर्शन हुँदैछ ।’

त्यहाँको कमाईबारे उनले भने,‘फिल्म निर्माणको क्रममै हामीले जात्रै जात्रालाई ३५ लाखमा अष्ट्रेलिया राईट बेचेका हौं । त्यो फिल्मबाट अष्ट्रेलियामा रहेका हाम्रा साथीहरुले सबै खर्च काटेर एक करोड भन्दा बढी नै नाफा गर्नु हुन्छ ।’ अहिलेसम्म अष्ट्रेलियामा दुई करोड भन्दा बढीको व्यापार जात्रै जात्राले गरेको पनि निर्देशक भट्टराईले बताए ।