चार दर्जन हलबाट आयो पसिना


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

आरबी खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र पसिना शुक्रबारबाट मुलुकका चार दर्जन सिनेमा हलबाट प्रदर्शनमा आएको छ । चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन् ।

यो चलचित्रमा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धु्रव कोइराला, शारदा गिरी, सुरजनी केसीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । बलिउड फिल्म स्टुडेन्ट अफ द इयर–२ सँग यो फिल्म जुध्दै छ ।
आफूले यो चलचित्रमा मजदुरहरूको समस्यालाई उठान गरेको यी निर्देशकले बताएका छन् । निर्देशक खत्रीका अनुसार पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरका कथा प्रायः देख्न पाइन्न । ‘गरांै सत्कर्म, बगाऔं पसिना’ भन्ने नारासहित आफूहरूले यो चलचित्र दर्शकमाझ ल्याउन लागेको पनि निर्देशक खत्रीले बताए ।

यो चलचित्रमा राम केसीको छायांकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राईको संगीत, नवीन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको पनि निर्देशक खत्रीले जानकारी गराएका छन् ।

फिल्मले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने यसकी निर्माता शान्ता ढकालले बताएकी छन् । नेपाली फिल्म हेर्ने दर्शकले आफ्नो फिल्म मन पराउने पनि उनको कथन छ । चलचित्रमा सञ्जय महतो कार्यकारी निर्माता रहेका छन् ।

यो चलचित्र मजदुरी गर्नेहरूका लागि निकै सकारात्मक र प्रेरणादायी हुने कलाकार सरोज खनालको कथन छ । समाजमा नकारात्मक कुराहरूले बढी स्थान पाएको बेला पसिनाले सकरात्मक सन्देश फैलाउने पनि उनले बताएका छन् ।