अभिनेत्री करिश्मा एसईई परीक्षामा व्यस्त


ब्युटी न्युज नेपाल
काठमाडौं, १० चैत

आईतबारबाट यो वर्षको एसईईको परीक्षा सुरु भएको छ । अग्रज अभिनेत्री अभिनेत्री करिश्मा मानन्धरले पनि आईतबारबाट सुरु भएको यो वर्षको एसईई परीक्षा दिइरहेकी छिन् ।

काठमाडौंको मैतिदेबी स्थित त्रिवेणी पब्लिक हाई स्कुलमा १० कक्षामा अध्ययनरत यी अभिनेत्रीले आईतबार पहिलो दिनको परीक्षा राम्रो भएको बताएकी छिन् । उनको परीक्षा सेन्टर काठमाडौंको डिल्ली बजार स्थित बिजय मेमोरियल स्कुलमा परेको छ । परीक्षा दिएर हलबाट निक्लिएपछि उनले परीक्षा राम्रो भएको प्रतिक्रिया दिएकी हुन् ।

पढ्नका लागि स्कुल वा कलेज जान चानेहरुलाई उमेरले रोक्दैन । यस्तै ४२ वर्षको उमेरमा कक्षा ७ मा भर्ना भएकी अभिनेत्री करिश्मा मानन्धरलाई पनि स्कुल जान उमेरले रोकेन । चार वर्ष लगातार स्कुल पढेर उनले अहिले एसईई परीक्षा दिएकी हुन् । आफ्नो ब्याचका २० जना साथीहरुसँग परीक्षा दिईरहेको यी अभिनेत्रीले बताईन् ।

करिश्मालाई आईतबार परीक्षा सेन्टरमा देख्न परिक्षक देखि अन्य विधार्थीहरु पनि निकै खुसी भए । उनलाई सहपाठी देखि परीक्षकसम्मले शुभकामना दिए । उनको पढाई प्रतिको लगाब देख्दा खुसी लागेको एक परीक्षकले बताए ।

अभिनेत्री करिश्मालाई सहपाठी मात्र हैन, चलचित्रकर्मी देखि शुभचिन्तक सम्मले शुभकामना दिएका छन् । सबैको शुभेच्छाले उनको सबै विषयका परीक्षा राम्रो होस भन्ने हाम्रो पनि शुभकामना ।