रानुदेवीलाई म्यूजिक खबर दीर्घ साधना सम्मान, तुलसी र माण्डबीलाई दशकसम्मान


व्युटी न्युज नेपाल
काठमाडौं, १६ असोज

१९ असोज शुक्रबार विराटनगरमा आयोजना हुने सातौं म्यूजिकखबर म्यूजिक अवार्ड २०७५ समारोहमा विभिन्न पुरस्कार घोषणा गरिएको छ । जस अन्तर्गत रानुदेवी अधिकारी, म्यूजिक खबर दीर्घ साधना सम्मान, तुलसी पराजुलीलाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान, माण्डवी त्रिपाठीलाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान, प्रेम सापकोटा सोनुलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान, मल्लिका कार्कीलाई म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान, गीता अधिकारीलाई म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार, याङ्शु श्रेष्ठलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान, गायक सिताराम पोखरेल गीतकार शुभ मुकारुङ र गायक डीबी गुरुङलाई म्यूजिक खबर प्रदेश नं १ विशेष सम्मानबाट सम्मानित गरिएको छ ।

रानुदेवी अधिकारी, म्यूजिक खबर दीर्घ साधना सम्मान

प्रजातान्त्रिक रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीलाई यस वर्षको दीर्घ साधना सम्मान प्रदान गरिन लागिएको छ । सातौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसर पारेर गायिका अधिकारीलाई म्यूजिक खबर दीर्घ साधना सम्मान २०७५ प्रदान गरिन लागिएको हो । राणा शासन विरुद्धको अभियानामा प्रजातान्त्रिक आन्दोलन रेडियोमा गीत गाएर होमिएकी रानुदेवीले २००६ सालमा पहिलो गीत रेकर्ड गराएकी थिइन् । तारणीप्रसाद कोइरालाको शब्दमा उनले गाएको गीतले जनतालाई जागरुक गराएको थियो । प्रजातन्त्र आएपछि त्यस रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपाल बनाइएको थियो ।

तुलसी पराजुली, म्यूजिक खबर दशकको स्रष्टा सम्मान

त्यसैगरी संगीतमा एक दशक भन्दा लामो समय योगदान गर्दै आएका गायक तुलसी पराजुली र गायिका माण्डवी त्रिपाठीलाई दशकको श्रष्टा सम्मानबाट सम्मानित गरिने भएको छ । २५ वर्षदेखि निरन्तर क्रियाशील रहेका गायक पराजुली धनकुटा डाँडाबजारमा जन्मिएका हुन् ।

माण्डवी त्रिपाठी, म्यूजिक खबर दशकको स्रष्टा सम्मान

त्यस्तै दुई दशकको सांगीतिक यात्रा तय गरिसकेकी गायिका माण्डवी त्रिपाठी सुन्दरबजार लमजुङमा जन्मिएर संगीत क्षेत्रमा क्रियाशील छन् । उनले करिब एक हजारभन्दा माथि दोहोरी गीतमा स्वर दिइसकेकी छिन् ।

प्रेम सापकोटा सोनु, म्यूजिक खबर डायस्पोरा संगीत सम्मान

जापानमा रहेर नेपाली गीतसंगीतमा निरन्तर लागिरहेका गायक प्रेम सापकोटा सोनुलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट सम्मानित गरिने भएको छ । नेपाली लोकदोहोरीको क्षेत्रमा ८ वर्षदेखि निरन्तर क्रियाशील रहेका गायक प्रेम सापकोटा गीति लेखन, भाका संकलनमा समेत सक्रिय रहँदै आएका छन् ।

मल्लिका कार्की, म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान

मोरङ सिजुवामा जन्मिएकी गायिका मल्लिका कार्कीलाई यस वर्षको ‘म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान – २०७५’ प्रदान गरिन लागिएको हो । गायिका कार्की २०६१ देखि हालसम्म निरन्तर क्रियाशील रही नेपाली गीतसंगीतको क्षेत्रमा योगदान गरिरहेकी छन् ।

गीता अधिकारी, म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार

मोरङ जिल्लाको केराबारीमा जन्मिएर गीतसंगीत, चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएकी पत्रकार गीता अधिकारीलाई यस वर्षको ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान–२०७५’ प्रदान गरिने भएको हो । काठमाडौंलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेको पनि करिब डेढ दशकको हाराहारीमा पुगेको छ ।

याङ्शु श्रेष्ठ, म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान

दाङ जिल्लामा जन्मिएकी बाल प्रतिभा याङ्गशु श्रेष्ठले सानै उमेर देखी नै देश भित्रका बिभन्न स्टेज र भारतीय स्टेजमा समेत आफनो कला प्रदर्शन गरिसकेकी छन । केही नेपाली चलचित्रमा समेत अभिनय गरेकी श्रेष्ठलाई यस वर्षको ‘म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान २०७५’ प्रदान गरिने भएको हो ।

म्यूजिक खबर प्रदेश नं १ विशेष सम्मान

प्रदेश नं. १ का स्रष्टा र सिर्जनालाई मध्यनजर गर्दै आन्तरिक रुपमा कल्चरल पर्यटन भित्र्याउने उद्देश्यले आयोजना गरिएको सातौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा ‘म्यूजिक खबर विशेष संगीत सम्मान–२०७५’ बाट गायक सिताराम पोखरेल, गीतकार शुभ मुकारुङ र गायक डीबी गुरुङलाई सम्मानित गरिने भएको छ ।