बिनाशकारी भूकम्पको पीडामा द डार्कनेस बेकन’


काठमाडौं, १३ बैशाख

१२ बैशाख २०७२मा गएको विनासकारी भूकम्पको सम्झनागर्दै बुधबार राजधानीमा चलचित्र ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ ।

त्यो विनाशकारी भूकम्पले एक बालिकाको जीवनमा ल्याएको उतारचढावलाई यो चलचित्रको प्रमुख विषय बनाएको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रमा मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजता श्रेष्ठ, बैदार लामालगायतको अभिनय छ ।

यो चलचित्रलाई पवन केसीले निर्देशन गरेका हुन् । ‘विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकको एउटा विकट गाउ तौथलीमा भुकम्पपीडित सन्ध्याको जीवनमा आएको उतारचढावलाई कथात्मक रुपमा हामीले प्रस्तुत गरेका छौं,’निर्देशक केसीले भने,‘भूकम्पमा आमाबाबु गुमाएपछि काका–काकीको पालनपोषणमा रहेकी सन्ध्या प्रलोभनमा परेर काकाबाट कसरी बेचिन्छिन् भन्ने दर्दनाक कथालाई फिल्मले देखाउनेछ ।’
फिल्मकी प्रमुख कलाकार मरक्युरी श्रेष्ठले फिल्ममा काम गर्दा शुरुमा असजिलो लागे पनि पछि सहज भएको बताइन् । फिल्मका कार्यकारी निर्माता राजेश रिजालले भूकम्प पछिको क्रन्दनलाई फिल्ममा देखाउन खोजिएको बताए ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, पूर्व अध्यक्षद्वय रमेश बुढाथोकी र रविन्द्र खड्काले फिल्मले गहन विषय उठान गरेकाले दर्शकका लागि रुचीकर हुने बताए ।