ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ चैत
आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र डेब्यु अभिनेता विशाल देवकोटा लाई जोडीका रूपमा प्रस्तुत गरिएको छ। निर्माण कम्पनी षट्कोण आट्र्सले सार्वजनिक गरेको पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको छ।
रंगमञ्चबाट आफ्नो पहिचान बनाएका विशाल देवकोटा अडिसनमार्फत फिल्ममा छनोट भएका हुन्। अभिनय कौशलकै कारण उनले पहिलो फिल्ममै स्वस्तिमासँग अभिनय गर्ने अवसर पाएको निर्माण पक्षले जनाएको छ। सानैदेखि कलाकार बन्ने सपना बोकेका उनले नाटकमार्फत अनुभव बटुलेर फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्।
विशालका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा उनको अभिनय देखेर फिल्म टिम प्रभावित बनेको थियो। त्यसपछि विभिन्न चरणको अडिसन पार गर्दै उनी ‘लालीबजार’मा अनुबन्ध भएका हुन्। उनले रंगमञ्च र फिल्म अभिनयबीच फरक अनुभव हुने उल्लेख गर्दै नाटकमा पात्रलाई निरन्तर जिउन पाइने तर फिल्ममा दृश्यअनुसार टुक्रिएर अभिनय गर्नुपर्ने बताए।
निर्देशक यम थापा को कथा तथा निर्देशनमा तयार भएको फिल्म सामाजिक यथार्थमा आधारित रहेको बताइएको छ। बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
फिल्मको गीत ‘मायालाई के दिउँ म बैना’ दर्शकमाझ लोकप्रिय बनेको छ, जसले लाखौं भ्युज पाइसकेको छ। बर्दियाको राजापुरमा छायांकन गरिएको ‘लालीबजार’ पारिवारिक रूपमा हेर्न मिल्ने, मनोरञ्जनात्मक तथा नयाँ कथावस्तु बोकेको फिल्म रहेको निर्माण पक्षले जनाएको छ।

