‘राम नाम सत्य’को ‘हुम्लाको लिमी’ गीतमा विराज र खुशी प्रेम भाव


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ चैत

‘राम नाम सत्य’ फिल्मको नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरिएको छ। आज ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यस गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ भने संगीत पनि स्वयं एसडी योगीकै हो। गीतका शब्द मौसम अर्यालले लेखेका हुन् ।

रोमान्टिक भावमा तयार गरिएको यस गीतको भिडियोमा नायक विराज भट्ट र नव–नायिका खुशी कार्कीको आकर्षक नृत्य देख्न सकिन्छ। उनीहरु प्रेम भावमा रमेका देखिन्छन् । भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन् भने छायांकन दैलेखमा गरिएको जानकारी निर्माण पक्षले दिएको छ। गीतले सार्वजनिक भएसँगै दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको ‘राम नाम सत्य’ फिल्मको कथा, पटकथा तथा निर्देशन माइकल चन्दले गरेका छन्। फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताका रूपमा रहेका छन्। मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यस फिल्ममा लाइन प्रोड्यूसर राजेन्द्र आचार्य छन्।

यस चलचित्रमा अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत समावेश छ। मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन तथा काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ। नवराज शर्मा मुख्य सहायक निर्देशकका रूपमा संलग्न छन्।

फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी र खुशी कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ। यसअघि सार्वजनिक टिजरले पनि सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइसकेको छ ।

लभस्टोरी, सस्पेन्स, पारिवारिक तथा एक्सन विधामा निर्माण भएको ‘राम नाम सत्य’ फिल्मले प्रदर्शनपछि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।