आँचलको जन्म दिनको केक खुवाउँदै एक मुठी बादलको टिजर सर्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ चैत

चलचित्र एक मुठी बादलः माई सेयर अफ स्काईको टिजर सार्वजनिक भएको छ । यो चलचित्रकी अभिनेत्री आँचल शर्माको जन्मदिनको केक काट्दै टिमलाई खुवाउँदै टिजर सार्वजनिक गरिएको छ । टिजर फिल्मकी मुख्य कलाकार आँचलले नै वाचन गरेको कविता ’पोम्पोईको फूल’मा केन्द्रित छ ।

अभिनेत्री आँचल शर्माले चलचित्र एक मुठ्ठी बादल आफ्ना लागि विशेष रहेको बताउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मीठो संयोग रहेको खुसी साट्दै भनिन्,‘अरु चलचित्रमा म अरु कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो चलचित्रको माइली मै हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिँदैन । यो चलचित्र मेरा लागि एकदमै स्पेसल छ,।’

चलचित्रमा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।

यसको कवितासँगै टिजरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराएको छ । यो कविता चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ । सहाराका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् जुन उनले लगभग बिर्सिसकेकी थिइन् । तर चलचित्रको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो । सहारा भन्छिन्, – यो त्यतिबेला फर्कियो जतिबेला फिल्मलाई यसको सबैभन्दा बढि आवश्यकता थियो । त्यसबेला देखि नै यो कविता चलचित्रको अभिन्न अंग बनेको छ ।

चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।

एक मुठी बादललाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ । चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन , अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । चलचित्रमा मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् । चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।