ब्युटी न्युज नेपाल
काठमाडौं, ८ फागुन
जेपिजे इन्टरटेनमेन्टले नयाँ सिर्जनालाई निरन्तरता दिने क्रममा ‘मायामा टेन्शन भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। पछिल्लो समय आफ्ना गतिविधि सक्रिय बनाउँदै आएको संस्थाले रोमान्टिक शैलीको यो गीत दर्शक–श्रोतामाझ ल्याएको हो।
गीतमा दीपेन्द्र खड्काको शब्द, विकाश चौधरीको संगीत तथा गायिका तपस्या राईको स्वर रहेको छ। प्रेम सम्बन्धमा देखिने साना मनमुटाव र असमझदारीका कारण उत्पन्न हुने भावनात्मक तनावलाई सरल र सुमधुर ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। आधुनिक संगीत संयोजनमार्फत युवापुस्तालाई लक्षित गरिएको गीतमा मेलोडी र भावनात्मक अभिव्यक्तिको सन्तुलित संयोजन देख्न सकिन्छ।
भिडियोमा गायिका तपस्या राई स्वयंले अभिनय गरेकी छन्। आफ्नै स्वरमा सजिएको गीतमा अभिनय गर्न पाउँदा उत्साहित भएको उनले बताएकी छन्। प्रेमका उतारचढाव र भावनात्मक द्वन्द्वलाई दृश्यात्मक रूपमा जीवन्त बनाउने प्रयास भिडियोमा गरिएको निर्देशक पक्षको भनाइ छ। भिडियो निर्देशन विमल ढकालले गरेका हुन् भने वरिष्ठ चलचित्र निर्देशक तथा निर्माता किशोर सुब्बाले निर्माण गरेका छन्।
नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित जेपिजे इन्टरटेनमेन्ट निरन्तर सक्रिय रहँदै आएको छ। सोही अभियानअन्तर्गत ‘मायामा टेन्शन भो’ निर्माण गरिएको जनाउँदै निर्देशक किशोर सुब्बाले अमेरिकाबाट प्रसारण हुँदै आएको मनोरञ्जनात्मक कार्यक्रम ‘हेल्लो अमेरिका’लाई पनि निरन्तरता दिइरहेको जानकारी दिए।

