‘झरीपछिको इन्द्रेणी’को ट्रेलरमा भ्रष्टाचार र बेथिती


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ मंसिर

नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यही आउँदो ४ पुषबाट नेपालमा रिलिज हुँदैछ । यसै क्रममा यो चलचित्रको ट्रेलर आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । सिनेमाको २ मिनेट ५५ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेव्यु निर्देशनमा निर्माण भएका यो सिनेमाको सार्वजनिक ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा सिनेमाको आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । यो ट्रेलरले केही समय अगाडी नेपालमा भएको जेनजी आन्दोलनको झल्को दिन्छ ।

विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने युवाको सपना पुरा नहुँदा उसले कसरी भ्रष्टाचार र बेथितीविरुद्ध आन्दोलन गर्छ भन्ने कथा देखाइएको छ । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । सिनेमाको ट्रेलरमा उठाएको कथावस्तुका विषयमा निर्देशक पाँडेलाई प्रश्न गर्दा जेनजी आन्दोलन अगावै आफ्नो सिनेमाको छायांकन सकिएकाले कहीँ कतै मिल्न गए संयोग मात्रै हुने बताए ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमा समसामयिक विषयमा निर्माण गरिएको छ । निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।