ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ मंसिर
नेपाली चलचित्र ‘हर्ष’ आज १२ मंसिर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । यो चलचित्र मुलुकका १०० भन्दा बढी चलचित्र घरमा रिलिज भएको छ । एकता पौडेलको डेव्यु निर्देशनमा तयार भएको यो चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
सिनेमाले पारिवारिक कथालाई केन्द्रमा राखेको छ । सिनेमाले दर्शकबाट पनि राम्रो प्रतिक्रिया शुक्रबारका विहान्री शोमा मिलिरहेको छ । बुधबार आयोजित प्रिमियर शोमा पनि उनले हर्षमा निर्देशक शिव रेग्मीको फ्लेवर पाएको प्रतिक्रिया पाउँदा हर्षित देखिएकी थिइन् ।
निर्देशक पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।
यो चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।
आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।




