ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ मंसिर
पूर्णबहादुर सारंगी जस्तो किर्तिमानी व्यवसायी चलचित्रका निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् । निर्देशक पौडेलले चलचित्रको नाम टिजरमार्फत घोषणा गरेका छन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको टाइटल छ । सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन ।
चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।
सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए । आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्रको कलाकार र प्राविधिक चाँडै चयन गरिने पौडेलको कथन छ ।
केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो । प्रदर्शन भइरहेका बेला जेनजीको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित बन्न पुगेको ‘कोशेढुङ्गा’ले समाजिक विषय, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया बटुलेको थियो ।


