आज ११ मंसिरमा लिखु छहरे महोत्सवमा ज्योती मगरले सबैलाई नचाउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ मंसिर

पछिल्लो पुस्ताकी लोकप्रिय लोक गायिका ज्योती मगरको आज ११ गते बिहिबार ‘दोस्रो लिखु छहरे महोत्सव २०८२’मा भव्य प्रस्तुति रहने छ । ज्योतीका थुप्रै लोकप्रिय गीतहरु छन् । महोत्सवमा आज आफूसँगै चर्चित गीतहरुमा नाच्नको लागि नुवाकोटका सबै प्रिय दर्शकहरुले गायिका ज्योती मगरले यो महोत्सवमा निमन्त्रणा गरेकी छिन् ।

नुवाकोटको लिखु गाउँपालिका वडा नं. ६ स्थित छहरे बजारमा बिगत एक हप्तादेखि चलिरहेको ‘दोस्रो लिखु छहरे महोत्सव २०८२’मा हरेक दिन दिउँसो २ बजेपछिबाट सांगीतिक कार्यक्रम सुरु हुने गरेको छ । सो सांगीतिक कार्यक्रममा देशका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत, संगीत, नृत्य तथा प्रहसन प्रस्तुत गरिरहेका छन् । यसै क्रममा आज बिहीबार दिउँसो यो महोत्सवमा स्थानीय कलाकारसँगै लोकप्रिय गायिका ज्योती मगरको भव्य प्रस्तुति रहने छ ।

यो महोत्सव आयोजक एवम् लोकप्रिय बरिष्ठ गायक नमराज ढुंगानाको पनि आज विशेष प्रस्तुति रहने छ । सैयौँ हिट गीतबाट लोकप्रियता हाँसिल गरेका नमराजले आज दर्शकको चाहना अनुसारको गीत प्रस्तुत गर्ने बताएका छन् । यसै गरी आज बिहीबार नै रोजी रुम्बा, रिता गुरु, एलिसा ठकुरी, ठाकुरा लामा, उत्तम भण्डारीको पनि विशेष प्रस्तुति रहने छ ।

कार्यक्रमलाई गीत संगीतका साथ रमेश श्रेष्ठ मेलोडीले प्रस्तुत गर्ने छन भने प्रताप हुमाईगा (झुले)ले आफ्नो प्रहसनबाट दर्शकलाई हँसाउने छन् । आजै कलाकार सरोज जंग थापाको पनि विशेष प्रस्तुति रहने छ ।

यो महोत्सव लिखु गाउँपालिकाको सहयोग तथा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालद्धारा आयोजनामा ३ मंसिरबाट छहरेमा भव्य रुपमा चलिरहेको छ । यस महोत्सवमा विभिन्न स्थानीय कृषी उत्पादनको बिक्रीसँग सांस्कृतिक प्रस्तुतिहरु नियमित रुपमा हुने गरेको छ ।

महोत्सव संयोजक सुवास महतका अनुसार महोत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने भएकाले दैनिक दर्शकहरुको उल्लेख्य सहभागित हुने गरेको छ । उनका अनुसार यो महोत्सव १४ मंसिरसम्म छहरेमा जारी रहने छ । महोत्सवका अध्यक्ष नमराज ढुंगानाका अनुसार स्थानीय उत्पादन तथा कृषी उत्पादनहरुलाई महोत्सवमा प्रवर्धन गरिएको छ । यसले स्थानीय पर्यटन पर्वधनमा समेत उल्लेख्य फाईदा पुगेको छ ।