गायक निर्मोहीलाई सम्मान गर्दै गायिका अञ्जनाको एकल साँझ सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ कात्तिक

गायिका अञ्जना गुरुङले आफ्ना एक दर्जन चर्चित गीतहरु सुनाउँदै दर्शकको मन जितेकी छिन् । शुक्रबार दिउँसो काठमाडौँका कालिका स्थानस्थित सर्वनाम थिएटरमा आयोजिता ‘अञ्जना गुरुङ एकल साँझ २०८२’मा उनले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेकी हुन् । लामो समय अमेरिका बसाईपछि नेपाली आएकी उनी यसटक आफ्ना चर्चित गीतहरु लिएर एकल साँझको रुपमा प्रस्तुत भएकी हुन् ।

नेपाली संगीत क्षेत्रमा लामो योगदान दिँदै आएकी गुरुङले आफ्ना पहिलो रेकर्ड भएको गीत आँखैमा राख्छु मेरो देशबाट एकल गायन साँझको शुभारम्भ गरिन् । यसपछि उनले हो माया मा, आँधी सरी तिम्रो माया, गङ्गारबेढ , जसले मुटु चुँडेर लग्यो, बदनाम भएँ म तिम्रैक कारणले, एटम बम, म त काली सुन्दरी, ठ्याक्कै भेटौला, माईली रोधी घरमा जस्ता गीतहरु सुनाएर दर्शकको मन जितिन् । उनको एकल सांगीतक कार्यक्रममा ठ्याक्कै भेटौला गीतमा उनका श्रीमान तथा गायक तथा संगीतकार कन्हैया सिंह परियारले गायिका गुरुङलाई युगल स्वरमा साथ दिए । कार्यक्रममा राष्ट्रिय भावको पहिलो गीतमा उनलाई नृत्य कलाकारहरुले पनि नृत्यबाट साथ दिएका थिए ।

लामो समयपछि एकल साँझ लिएर दर्शकमाझ आउँदा फरक अनुभूति भएको गायिका अञ्जनाले कार्यक्रममा बताईन् । आफूले गायका गीतहरुसँगको सम्बन्धबारे पनि उनले कार्यक्रममा प्रकाश पारेकी थिईन् । एकल गायन सुरु हुनु भन्दा अघि उनको गायनबारे संगीतकार सन्तोष श्रेष्ठले प्रकाश पारेका थिए । हेम सुवेदीले भने उनको गायकी कलाबारे चर्चा गरेका थिए ।

सोही समारोहमा अग्रज गायक तथा सञ्चारकर्मी कमल बि.के. ‘निर्मोही’ लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरियो । सम्मानको नगद राशी ५१ हजार रुपैयाँ र सम्मान पत्र थियो । चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले सो सम्मान निर्मोहीका प्रतिनिधि नमस्कार शाहलाई हस्तान्तरण गरे ।

नेपाली गीत–संगीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै निर्मोहीलाई सम्मानित गरिएको अग्रज संगीतकार, गायक तथा सो पुरस्कारका संस्थापक कन्हैया सिंह परियारले कार्यक्रममा प्रकाश पारे । गायक निर्मोही पछिल्ला वर्षहरूमा मिर्गौला रोगबाट पीडित रहँदै पनि निरन्तर सांगीतिक सिर्जनामा सक्रिय छन् । स्वास्थ्य अवस्था कमजोर रहेका कारण उनी सम्मान समारोहमा उपस्थित हुन सकेनन् । निर्मोहीका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीतहरू आज पनि श्रोतामाझ अत्यन्त लोकप्रिय छन् ।

सो सम्मानका संरक्षक गायक तथा संगीतकार कन्हैया सिंह परियारले सम्मानको मूल उद्देश्य नेपाली संगीतमा उल्लेखनीय योगदान पु¥याएका अग्रज स्रष्टा र कलाकारहरूलाई जीवनकालमै सम्मान गर्ने रहेको बताए । यो सम्मानले कलाकारको मनमा खुसी, जीवनमा उत्साह र सर्जनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको पनि उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.ले ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ ले गीत संगीतमा आवद्ध कलाकारहरुलाई नगद राशी सहितको पुरस्कार प्रदान गर्नु प्रशंशनिय कार्य रहेको बताउँदै यस्ता सम्मान कार्यक्रमहरूले कलाकारहरूमा नयाँ उत्साह, ऊर्जा थप्ने काम गर्दछ भने कलाकर्मीहरूलाई निरन्तर सिर्जनशील रहन प्रेरणा दिने विश्वास व्यक्त गरे ।