चलचित्र विकास बोर्ड र सेन्सर बोर्डका सदस्य परिवर्तनको पक्षमा सञ्चार मन्त्री


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० कात्तिक

नेपाली चलचित्रमा धुमपान र मधपानको चेतनामुलक सन्देश अंग्रेजी भाषामा राखेकोमा चलचित्र क्षेत्रबाट सेन्सरमा गएका विज्ञहरुले नै सबैभन्दा बढी बिरोध गरेर आफूहरुले ठुलो गल्ती गरेको जसरी चलचित्र रोक्न भूमिका खेलेको भन्दै कोशेढुंगा र जेरी अन टपको निर्माताहरुले गुनासो पोखे । सञ्चारमन्त्री जगदिश खरेलसँगको एक अन्तरक्रियामा कोशेढुंगा चलचित्रका निर्देशक सरोज पौडेलले आफ्नो चलचित्र बन्देजको बारेमा बिहीबार गुनासो पोखेका हुन् । यो सहित सेन्सर बोर्डका हालका पदाधिकारीहरुको एक पछि अर्को गुनासो चलचित्रकर्मीहरुले व्यक्त गरेपछि सञ्चार मन्त्री खरेलले अहिलेको सेन्सरको सबै टिम नै परिवर्तन गरिदिन निर्देशन समेत दिएका छन् ।

तर यता सेन्सरमा रहेको विज्ञ सदस्यहरु कुवेर गिरी र भिमा मैनालीले आफैहरुले नेपाली चलचित्रकर्मीहरुलाई सकेसम्म सेन्सरबाट सहुलियत होस भन्ने चाहेको ब्युटी न्युज नेपाललाई बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन दिएका छन् । उनले सेन्सर बोर्डका समितिका पदाधिकारी हेरफेर गर्नु पर्ने संकेत गर्दै मन्त्रालयका सचिव राधिका अर्याल र महाशाखाका प्रमुखहरूलाई त्यसको लागि निर्देशन दिएका छन् । उनले विकास बोर्डमा समेत तत्काल राइट म्यान इन राइट प्लेस ल्याउनूस भनेका छन् ।

अन्तरक्रिया कार्यक्रममा मन्त्री खरेल, सञ्चार सचिब राधिका अर्याल र चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी ।

चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डका सदस्यहरु मन्त्रीको निर्देशनमा नियुक्त गर्न मिल्ने भएकाले मान्त्रीले चाहेको बेलामा हटाउन र फेर्न सक्ने सुझाब मन्त्रालयका कर्मचारीले दिएपछि सञ्चार मन्त्री जगदीशले यस्तो निर्देशन दिएका हुन् । यो निर्देशनले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डका सदूस्यलाई हटाएर जेनजीका केही व्यक्तीहरुले चाहेका चलचित्रकर्मीलाई ल्याउने संकेत देखिएको छ ।

यसको लागि जेनजी आन्दोलनमा सहभागी र समर्थनमा उत्रिएका चलचित्रकर्मीहरुले मन्त्री खरेललाई सुझाब दिएको समाचार छ । अझ चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले विहिबार चलचित्रकर्मीसँग गरेको छलफल र अन्तक्रिया कार्यक्रमको केही चलचित्रकर्मीहरु सेन्सर बोर्ड र चलचित्र विकास बोर्डको बारेमा खुलेर विरोध गरेपछि अब बोर्ड र सेन्सरका सदस्यहरुलाई हेरफेर गर्न मन्त्रीलाई झनै उर्जा मिलेको छ ।

बिहीबारको अन्तरक्रियामा चलचित्रकर्मीहरुले सेन्सर बोर्डको पदाधिकारी र सेन्सरको नियमबारे कडा टिप्पणी गरेका थिए । आजको अन्तरक्रिया कार्यक्रममा कलाकार जितु नेपाल, निर्देशक सरोज पौडेल र प्रदीप भट्टराईले सेन्सर बोर्डको असमान व्यवहार र प्रदर्शन रोकावटप्रति असन्तुष्टि व्यक्त गर्दै निष्पक्ष नीतिको माग गरे। त्यो टिप्पणीको जवाफ दिने क्रममा मन्त्री खरेलले सहि व्यक्तिलाई सेन्सर र विकास बोर्डमा ल्याउन निर्देशन दिएपछि संचार सचिव राधिका अर्यालले पनि सेन्सर बोर्डबारे धेरै समस्या आएकाले यसबारे आफूले बुझेर मन्त्री खरेललाई जानकारी दिने बताएकी छिन् ।