ब्युटी न्युज नेपाल
काठमाडौं, ६ कात्तिक
तिहारको अवसर पारेर आज भाइटीकाको दिन देश भरका चलचित्र घरमा चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज भएको छ । दयाहाङ राई र विजय बरालको शीर्ष भूमिका रहेको चलचित्र देशभरका हलमा आजबाट प्रदर्शनसँगै जताततै हाउसफुल छ ।
‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
दयाहाङ र विजयको घम्साघम्सी रहेको चलचित्र हेर्न आज बिहानैदेखि उल्लेख्य संख्यामा दर्शक हलमा देखिएका छन् । पहिलो शोदेखि नै ‘वरिष्ठ बलराम’ले राम्रो प्रतिक्रिया पाएको छ । दर्शकले चलचित्रले मनोरञ्जनसँगै सोसल म्यासेज पनि दिने बताएका छन् ।
दर्शकले माटो सुहाउँदो स्टोरी भनेका छन् । प्राकृतिक स्रोतको दोहनको कथा यो चलचित्रले उठान गरेको छ । यसलाई दर्शकले मन पराएका छन् ।

‘वरिष्ठ बलराम’ले दर्शकबाट पोजेटिभ रिभ्यु पाएपछि निर्माणपक्ष सिनेमा राम्रोसँग चल्नेमा ढुक्क देखिएको छ । विजय बराललगायत कलाकार दर्शकलाई भेट्न आज बिहानैदेखि हलहलमा पुगिरहेका छन् ।
‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।
मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गरेको छ ।






