राजधानी समाचारदाता
काठमाडौंँ, ३ कात्तिक
गीत संगीत तथा चलचित्र बनाएर मात्र हुँदैन । त्यसको प्रचार प्रसार एवम् प्रोमोसन पनि गर्न जान्नु पर्छ । यही भाइटीकामा रिलिज हुने चलचित्र सोल्टिनीको गीतको हालत पनि यस्तै भएको छ । अहिलेकी चर्चित मौलिक गायिका झुमा लिम्बुको स्वरमा रहेको गीत ‘बाँचुञ्जेल पो…’ रिलिज भएको तीन दिन नाघिसक्यो । ओएसआर डिजिटलको च्यानलबाट रिलिज गरिएको यो गीतले अहिलेसम्म जम्मा ४२ हजार मात्र भ्युज पाएको छ ।
प्रकाश सपुत, परीक्षा लिम्बु जस्ता चर्चित कलाकारले अभिनय गर्दा पनि तीन दिनमा ४२ हजार मात्र भ्युज पाउनु लज्जासपद कुरा हो । आफ्नो गीतलाई निर्माण पक्षले रिलिज मात्र गरेको तर कत्ति पनि प्रोमोसन नगरेको गुनासो गायन पक्षको छ ।
सोल्टिनी टिमले झुमाको स्वरसँगै प्रसान्त सिवाकोटीको संगीत र स्वर समेत रहेको ‘बाँचुञ्जेल पो…’ गीतको प्रचार प्रसारमा त पटक्कै ध्यान दिएको छैन नै । चलचित्रको् प्रचार प्रसारको हालत पनि उस्तै छ । भाइटीकामा यसपटक तीन वटा चलचित्र रिलिज हुँदैछन् । यति ठुलो प्रतिस्पर्धामा उत्रिएको यो चलचित्रको निर्माण पक्षले सोल्टिनीको गीत संगीतलाई प्रोमेसन गर्न नसक्दा निकै राम्रो सिर्जनाको अवस्था नाजुक देखिएको छ । हेरौँ चलचित्रको हातल कस्तो हुन्छ ? त्यो भने भाइटीकाबाट थाहा हुनेछ ।