कृषी रियालिटी शो आजबाट प्रशारणमा


ब्युटी न्युज नेपाल
काठमाडौं ३० असोज

कृषि–केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आज (विहीबार)देखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ । यो कार्यक्रमलाई अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएका छन् । काठमाडौँमा एक पत्रकार सम्मेलनमा पहिलो एपिसोड सञ्चारकर्मीलाई देखाईएको थियो ।

कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८ः१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ । यो कार्यक्रमको परिकल्पना, निर्माण तथा निर्देशन शैलेश कँडेल क्षेत्रीले गरेका हुन् । निर्देशक कँडेलका अनुसार, शोको मूल उद्देश्य कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पु¥याउने हो।

त्यस्तै, होस्ट हमालले शोले देशको अर्थतन्त्रमा टेवा पु¥याउने, कृषकलाई प्रोत्साहन दिलाउने र युवाहरूलाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार, यो कार्यक्रमले दर्शकहरूलाई कृषि कर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारी दिनुका साथै मनोरञ्जन र प्रेरणा दुवै प्रदान गर्नेछ ।

कार्यक्रममा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीहरूबीच रोचक प्रतिस्पर्धा देख्न सकिनेछ । शोका निर्माताहरूका अनुसार, ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ नेपाली टेलिभिजनमा नयाँ ढंगको प्रयोगका रूपमा प्रस्तुत भएको छ, जसले कृषि क्षेत्रलाई प्रविधि, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने लक्ष्य राखेको छ ।