राजेश हमालले बिमोचन गरे आफ्नै पुस्तक ‘युगदेखि युगसम्म’ बजारमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ असोज

अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । आफ्नो पुस्तकलाई अभिनेता हमाल आफैँले बिमोचन गरे । बिमोचनमा राजेशलाई लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र उनकी पत्नी मधु भट्टराईले संयुक्त रुपमा सघाएका थिए ।

२०४६ सालमा निर्मित चलचित्र युगदेखि युगसम्मबाट नायकको रुपमा नेपाली चलचित्रमा आएका राजेशको कितावको नाम पनि उनको पहिलो चलचित्रबाटै जुराईएको छ । पुस्तकमा हमालको ३६ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएका छन् । यो पुस्तक लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो । देशमा पछिल्लो पटक विकसित घटनाक्रमले नयाँ बिहानी आएको तर घाम झुल्किनसकेको भन्दै हमालले देशबारे चिन्ता प्रकट गरे । र पुस्तकबार आफ्ना धारणा राखे । कार्यक्रममा हमालले आफूले पुस्तकमा बाल्यकालदेखि युवा अनि अहिलेसम्मको वयमा आइसक्दासम्मका सबै उतारचढाव एवम् कहानी प्रस्तुत गरेको उनले बताए । ‘यज्ञशजीलाई मैले पुस्तकमा खुलस्त रुपमा आफ्ना विचार र घटना प्रस्तुत गरेको छु,’ उनले भने, ‘मलाई लाग्छ, पुस्तकमा यज्ञशजीसँग म यसरी खुलेको छु, सायद म त्यति त मधुसँग पनि खुलेको छैन कि ?’

आफूहरुले पुस्तक लेखनका क्रममा लामो समय बिताएको लेखक यज्ञशले बताए । लेखनका लागि तीन वर्ष लागेको यो पुस्तक बडो मिहिनेतसाथ तयार पारेको उनको भनाइ छ । पुस्तक लेखनका क्रममा हमालसँगको सहकार्य विशेष रहेको पनि उनले जनाए ।
राजेश हमाललाई बुझ्न यो पुस्तक अति उपयोगी रहेको हमालपत्नी मधु भट्टराईले बताइन् । ‘राजेशजीलाई मैले जसरी बुझेकी छु, पुस्तक पढ्नुभयो भने तपाईंहरुले पनि त्यसैगरी नै बुझ्नुहुनेछ,’ उनले भनिन् ।

कार्यक्रममा लेखक बुद्धिसागरले पनि हमालको पुस्तकबारे चर्चा गरे । हामीले राजेश हमाललाई जसरी देखेका अनि बुझेका छौं, पुस्तकले सरल रुपमा उनको विषयमा अझ फराकिलो गरी बुझाउने उनको भनाइ छ । ‘नागरिक पत्रिकामा काम गर्दा मैले राजेश हमालको अन्तर्वार्ता गरेको थिएँ,’ उनले भने, ‘त्यति बेला उहाँसँग गरेको अन्तर्वार्तापछि मैले उहाँलाई नजिकबाट देखिरहेको छु । यस पुस्तकमा उहाँका थुप्रै पाटा आएका छन् । पुस्तक पठनीय छ । अझ फराकिलो गरी उहाँलाई बुझ्न सकिन्छ ।’

हमालको पुस्तक बहुप्रतीक्षित एवम् महत्वाकांक्षी साहित्यिक घटनामध्ये एक रहेको प्रकाशक नीरज भारीले बताए । पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा आफूहरु हर्षित भएको उनको भनाइ छ । ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिएको अनुभूति भएको छ, प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो,’ उनले भने ।