ब्युटी न्युज नेपाल
नेपालगञ्ज, २१ असोज
नेपाली फिल्म माइतीघरको व्यापार राम्रो हुँदै गएको छ । यो चलचित्रले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि फिल्मको व्यवसायले आक्रमक रुप धारण गरेको छ ।
बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको यो चलचित्रले मंगलवार नेपालगञ्जमा बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार माईतीघरका सात वटै शो हाउसफुल भएका छन् ।
सोमवार साँझ कलाकारहरुसहित नेपालगञ्ज पुगेका निर्माता रोहित अधिकारीका अनुसार आज सिनेमा हल पुगेका दर्शकहरूले टिकट नै पाएका छैनन् ।
काठमाडौंबाट गएका फिल्मका कलाकारहरु केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल, निर्माता रोहित अधिकारी तथा निर्देशक मिलन तामाङलाई स्थानिय दर्शकहरुले भव्य स्वागत गरेका छन् । दर्शकले काठमाडौंबाट गएका कलाकारहरुलाई खुला हृदयले स्वागत गर्दै फिल्मको मज्जा लिइरहेका छ्न् ।
नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा पनि यो फिल्मले दर्शकको उत्कृष्ट साथ पाइरहेका निर्माता अधिकारीको भनाइ छ ।
यसैबीच, आज यो फिल्मले देशभरि नै उत्कृष्ट व्यापार गरिरहेको निर्माता अधिकारीले जानकारी दिएका छन् । बलियो वर्ड अफ माउथका कारण फिल्मको व्यापार सुखद रुपमा अगाडि बढिरहेको छ । निर्माणपक्षले व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।