ब्युटी न्युज नेपाल
काठमाडौं, १४ असोज
नेपाली चलचित्र ’सोल्टिनी’को शीर्षक गीत ’दाजुको साली’ सार्वजनिक गरिएको छ । बडादसैँको महाअष्टमीका दिन, मङ्गलवार ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतलाई गायक एस.डी. योगीले स्वर दिएका छन्। गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ।
यस पटकको भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको सोल्टिनीको यो गीतको भिडियोमा कोरियोग्राफी मौसम हिमालीले गरेका छन् । अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बुको साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय रहेको यस गीतले गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको रमाइलोपनलाई झल्काउँछ।
सोल्टिनीलाई यस अघि रँगेली निर्देशन गरेका निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश, परीक्षा, सुन्दर, सब्बु र सुजनसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ। विशेष आकर्षणका रूपमा कार्यकारी निर्माता ’हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’को संलग्नता रहेको छ ।
’सोल्टिनी’को छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। कथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ। चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले तयार गरेका हुन्। चलचित्र नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।
चलचित्रमा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने सन्देश रहेको दाबी निर्देशक सुवेदीले गरेका छन्। दुई प्रमुख पात्रबीचको प्रेमकथा नै यस चलचित्रको मुख्य आकर्षण हुने बताइएको छ। यो चलचित्रको इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थलमा छायाङ्कन गरिएको हो ।