’बलिदान’को ट्रेलरमा समीरको एक्सन


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ असोज

रिलिज हुनु भन्दा १० दिन अघि आज शुक्रबार नेपाली चलचित्र ‘बलिदान’को ट्रेलर सार्वजनिक गरिएको छ । अघिल्लो चलचित्र १२ गाउँबाट एक्सन अभिनेताको रुपमा स्थापित समीर भट्टलाई यो चलचित्रमा पनि एक्सनमै उतारिएको छ ।
आफ्नी आमालाई बैरीले आक्रमण गरेपछि ती बैरीको कान काट्न समेत पछि नपरेको कुरा ट्रेलरमा प्रस्तुत छ । यो चलचित्रमा आफ्नो माटोको लागि आफैँ लड्नु पर्छ भन्ने बिषयबस्तु समेटिएको ट्रेलरले जनाएको छ । ट्रेलर अनुसार समीर र ऋचा शर्मा आमा छोराको भूमिकामा छन् ।

यी दुईसँगै ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र हेमन्त बुढाथोकीको चरित्र पनि उजागर गरिएको छ । ट्रेलरले समीरलाई कुनै सिमान्तकृत समुदायको देखाएको छ । त्यो समुदायको थातथलोमा मुलुकका सम्पन्न बर्गले अधिग्रहण गरेपछि निम्तिएको समस्याले ल्याएको विनास ट्रेलरमा प्रस्तुत छ । जसमा सौगात खल चरित्रमा रहेको भान हुन्छ । समीरलाई एक्सनमा खुसै मेहनतका साथ उतारिएको छ ।

ट्रेलर अनुसार एक्सन र छायांकन राम्रो छ । अब चलचित्रको स्कृप्ट, कथाबस्तु, प्रस्तुति कस्तो छ । त्यो भने आगामी १३ असोजमा यो चलचित्र हलमा आएपछि मात्र थाहा हुने छ । बलिदान सहित यसपटक दसैँमा हरिबहादुरको जुत्ता, माइतिघरसहित चार वटा चलचित्र एकसाथ रिलिज हुने भएकाले पनि सबै चलचित्रका लागि यो दसैँ व्यबसायिक रुपमा ठुलो चुनौती बनेको छ । त्यसैले अहिले नै कुन चलचित्र हिट हुन्छ भनेर अनुमान गर्न गाह्रो छ ।

’आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । चलचित्रलाई सन्तोष सेनले निर्देशन गरेका हुन् ।