हल सञ्चालनसँगै कोशेढंगाको प्रदर्शन निरन्तर


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० भदौ

जेनजी आन्दोलनका कारण गत मंगलबारबाट बन्द भएका देशभरका चलचित्र घरहरु एक सातापछि आज सोमबारबाट खुलेका छन् । यो सँगै चलचित्रको प्रदर्शन पनि सुरु भएको छ । यसै क्रममा गत साता रिलिज भएको नेपाली चलचित्र ‘कोशेढुंगा’को प्रदर्शनले आज सोमबारबाट निरन्तरता पाएको छ ।

सर्वकालिक सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् । प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढंगा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो । भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै ‘कोशेढंगा’ को प्रदर्शन पनि स्थगित भएको थियो । सोमबारदेखि सिनेमा हलहरू सञ्चालनमा आएसँगै कोशेढुङ्गाको प्रदर्शनले निरन्तरता पाएको हो । राम्रो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला हल बन्द भएपछि प्रदर्शन रोकिएको सिनेमाले अब पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाउनेमा निर्माण पक्ष विश्वस्त छ ।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको चलचित्रका लेखक पनि सरोज पौडेल नै हुन् । यो चलचित्रमा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाईं, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतले अभिनय गरेका छन् ।

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘कोशेढुंगा’ ले देशभरबाट बलियो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला निर्माता, निर्देशक र कलाकार मोफसलका दर्शक भेट्न विभिन्न स्थान पुगेका थिए । देशका विभिन्न सहरका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिइरहेको अवस्थामा आफूहरू ठुलो संख्यामा दर्शकले चलचित्र हेर्नेमा आशावादी रहेको निर्माता किशोर अनुरागले बताए ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । चलचित्रको गीतमा खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलले संगीत दिएका छन् ।