जेनजी आन्दोलनमा ४ दिनमा ३४ जनाको मृत्यु, यस्तो छ नामावाली


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ भदौ

सोमबारबाट सुरु भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा बिहीबारसम्म मुलुकमा ३४ जनाको हत्या भईसकेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार बिहीरबारम्म मृतकको संख्या ३४ पुगेको हो । सोमबार पहिलो दिन काठमाडौँको नयाँ बानेश्वरमा राज्य तर्फबाट प्रहरीले गरेको गोली प्रहारबाट १७ जना र इटहरीमा भएको हमलामा दुई जना गरी १९ जनाको राज्य पक्षबाट हत्या भएको थियो । त्यसपछि पनि राज्य पक्षबाट बहुसंख्यकको हत्या भएको छ भने प्रदर्शनकारीहरुले पनि कतै आगजनीबाट र कतै मसरन्न हुनेगरी आक्रमण गरेर केहीको ज्यान लिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जेनजी पुस्ताको प्रदर्शनका क्रममा हालसम्म अस्पतालमा भएका भएका घाईते १ हजार ३६८ जना रहेका छन् । जस मध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । बाँकी ९४९ जना डिस्चार्ज भइसकेका छन् । अझै दर्जनौ घाइतेहरु गम्भिर अवस्थामा रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंँको हालसम्म मृत्यु भएकाहरुमा काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पताल मिन भवनमा ६ जना, एभरेष्ट अस्पताल बानेश्वरमा ३, फ्रन्टलाइन अस्पताल पुरानो बानेश्वरमा ३, केएमसी अस्पतालमा सिनामंगलमा २, बयोधा अस्पताल बल्खुमा २ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना रहेका छन् । यस्तै काठमाडौँ बाहिर नेपालगञ्जको भेरी अस्पतालमा ५ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, विराटनगरको बिर्तासिटी अस्पतालमा १ जना र विर्तामोडको बिएनसी अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृतकहरु मध्ये अझै केहीको ठेगाना खुल्न बाँकी रहेको पनि प्रवक्त बुढाथोकीले जानकारी गराएका छन् ।

ट्रमा सेन्टरमा मृत्यु भएकाहरुमा बाँकेका २५ वर्षीय सुलभज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिकाका ४१ वर्षीय बुद्धिबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका– ६ का २९ वर्षका योगबहादुर श्रेष्ठ, काठमाडौँ बनस्थलीका २६ वर्षका ईश्वतबहादुर अधिकारी, उदयपुर बेलका नगरपालिकाका–४ का २९ वर्षीय सन्तोष विक, काठमाडौं महानगरपालिकाका–८ का १९ वर्षका आयुष थापा छन् । यस्तै २९ वर्षका गौरव जोशी र १९ वर्षीय श्रीयाम चौलागाईंको मृत्यु भएकोमा उनीहरुको यकिन ठेगाना खुलेको छैन ।

यस्तै निजामती अस्पतालमा मृत्यु हुने अर्घाखाँचीका १८ वर्षका मिसल सारु मगर, गोरखाका २२ वर्षीय विमल भट्ट, सिरहाका ३२ वर्षका विजय चौधरी, दोलखाका २१ वर्षका अभिषेक चौलागाईं, धनकुटाका ६० वर्षीय छत्रमान कुथुमी, छन् भने २४ वर्षका काशी आलम ठाकुरको ठेगाना खुल्न सकेको छैन ।

काठमाडौकै एभरेष्ट अस्पतालमा मृत्यु हुनेमा ललितपुर महानगरपालिका–७ का ३० वर्षका बिनोद महर्जन, पाटनढोका बस्ने काभ्रे तेमाल गाउँपालिका–७ का दिलनारायण तामाङ र दुवाकोट भक्तपुर स्थायी ठेगाना भएका २३ वर्षका योगेन्द्र न्यौपाने रहेका छन् ।

काठमाडौँकै फ्रन्टलाइन अस्पतालमा मृत्यु भएकाहरुमा संखुवासभाका २१ वर्षका प्रविन कुलङ, काठमाडौं चाबहिलका २१ वर्षका उमेश महत, काठमाडौं गौशला बस्ने १७ वर्षका निकिता गौतम रहेका छन् ।

यस्तै काठमाडौँको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाहरुमा २८ वर्षका अर्जुन भट्ट र २३ वर्ष देव कुमार सुवेदी छन् । तर उनीहरूको ठेगाना खुलेको छैन ।

सिनामंगलको काठमाडौं मेडिकल कलेजका (केएमसी)मा मृत्यु भएकाहरुमा सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल रहेका छन् । उनीहरूको पनि ठेगाना अझै खुल्न सकेको छैन । त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एकजनाको अझै विवरण खुल्न सकेको छैन ।

त्यस्तै बाँकेको बालसुधार गृहमा भएको झडपपछि भेरी अस्पतालमा उपचारको क्रममा पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेको अस्पताल सुत्रले जनाएको छ ।

यी बाहेक जेनजी आन्दोलनका क्रममा लगाईएको आगोबाट केहीको मृत्यु भएको छ भने ३ जना प्रहरीको पनि हत्या भएको छ । ती मृतकहरुको संख्या यहाँ खुलाईएको छैन ।