जेनजीको आन्दोलनमा गायिका कोमल वली घर र होटल समेत जलाईयो


मेरो जीवन तपाईंहरूले देखिरहनुभएको छ, म हुँदाखाने परिवारको हुँ सामान्य तर इमानदार । बाल्यकालदेखि नै खेलाडी र गायिका बनेर प्रतिभा देखाएँ । गीत गाएरै छात्रवृत्ति पाएँ, कक्षा १० सम्म पढेँ र आफ्नो अध्ययनलाई निरन्तरता दिएँ । आर्थिक प्रलोभनमा परेको छैन ! कसैलाई टिकट काट्न लगाएको छैन, कसैको चिया खाएको छैन । यदि म भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने                      गोली खान तयार छु ।

……………………………………..

ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ भदौ

जेनजी पुस्ताको आन्दोलनले राजनीति प्रतिशोषमा कलाकारहरुको सम्पत्तिमा समेत आगजानी र तोडफोड गरेको छ । यस्तै गायिका कोमल वलीको दाङको तुलसीपुर स्थित आफ्नै घर क्षेत्रमा रहेको ‘कोमल होटल एन्ड रिसोर्ट’ लुटपछि आन्दोलनकारीहरुले जलाएर खरानी बनाएका छन् । आफ्नो होटलसँगै बस्दै आएको घर समेत जलाएर बास बिहीन बनाएको उनले बताएकी छिन् ।

रेडियो नेपालको जागिर छाडेर राजनीतिमा लागेकी उनी राजनीतिमा नियमित आम्दानी नदेखेपछि राष्टिय सभा सदस्यको पदावधि सकिएपछि उनले आफ्नो घरमा होटल खोलेर होटल व्यबसाय सुरु गरेकी थिईन् । गत वर्ष मात्र बैंकबाट ठुलो ऋण लिएर उनले होटल सञ्चालन गरेकी हुन् ।

अब होटल नै नरेपछि ऋण लिएको बैंकले आफ्नो जलाईएको होटल भएको जग्गा समेत लिलाम गर्न सक्ने चिन्ताले कोमललाई सताएको छ । स्थानीय स्तरको प्रचार हुने गरी थुप्रै लोकप्रिय गीत गाएर दाङ र तेलसीपुरलाई चिनाएकी कोमललाई यति बेला त्यही तुलसीपुरका जेनजी पुस्ता भन्नेहरुले उठिबास लगाएका छन् । आफूमाथि परेको बिपत्ति बारे कोमलले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्,

हामी बामे सर्दै थियौँ तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो ।
मैले सधैं साथ दिएको उमेर समूह जेन–जीको आन्दोलनको आवरणमा मेरो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरुलाई कहिल्यै भलो हुने छैन ।
जेन जीको आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नुभएका शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु, घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु । आन्दोलनमा निर्दोष नानीबाबुले अनाहकमा ज्यान गुमाउँदा मेरो छाती चिरिएको छ त्यो पीडा बोकेर बाँचिरहेकी छु ।
सेवा मुलक सानो होटल सञ्चालन गरेर गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्यउने, सबैलाई संगसंगै समृद्धिको बाटोमा अघि बढाउने सपना थियो मेरो कोमल होटल खोज्दा । म तुलसीपुरका पाँचतारे होटल वा अन्य होटलसँग प्रतिस्पर्धा गर्ने होइन तर प्राकृतिक सौन्दर्यले गर्दा आम जनताको नजरमा परेका रहेछौं ।
यो होटल मेरो मात्र नभई गाउँको रगत–पसिनासँग जोडिएको थियो । बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाईयो ।
मेरो जीवन तपाईंहरूले देखिरहनुभएको छ, म हुँदाखाने परिवारको हुँ सामान्य तर इमानदार । बाल्यकालदेखि नै खेलाडी र गायिका बनेर प्रतिभा देखाएँ । गीत गाएरै छात्रवृत्ति पाएँ, कक्षा १० सम्म पढेँ र आफ्नो अध्ययनलाई निरन्तरता दिएँ ।
गीत गाएर रेडियो नेपालमा पुरस्कृत भएँ, समाचार वाचनमा आदर्श बन्ने अवसर पाएँ । देश–विदेशले मेरो स्वरमार्फत् नेपाललाई चिने । करिब १८ वर्ष रेडियो नेपालमा सेवा गरेर राजनीति रोजेँ, सेवामुखी जीवन बिताउने संकल्पसहित । २०७४ सालमा राष्ट्रिय सभामा सांसद निर्वाचित भई चार वर्षे कार्यकालभर सकेसम्म सबैको सेवा गरेँ ।
मेरो जीवन ईमान र निष्ठामा अडिएको छ । मैले कहिल्यै भ्रष्टाचार गरेकी छैन, उपचार खर्चका नाममा सुविधा लिएको छैन ! आर्थिक प्रलोभनमा परेको छैन ! कसैलाई टिकट काट्न लगाएको छैन, कसैको चिया खाएको छैन । यदि म भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु ।
म नेकपा एमालेमा यस आशाले गएँ कि परिवर्तन सम्भव हुन्छ । तर के केवल कुनै दलमा आवद्ध हुनु नै भ्रष्ट हुनु हो ? नेपालको संविधान स्वयंले यसलाई अस्वीकार गर्छ ।
मेरो सम्पूर्ण पूँजी मेरो ईमान र निष्ठा हो ।
२०७९ सालको निर्वाचन जित्न सकिन, तर करिब ३० हजार नागरिकको भावना जित्न सकें । त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणा हो । मलाई मत दिनुभएका मात्र होइन, नदिनुभएका दाङवासीलाई पनि मैले मनमा राखेकी छु, मुटुमा राखेकी छु ।
तर आज प्रश्न गर्छु :
जेन–जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ?
– के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन–जीको क्रान्ति हो ?
– ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ?
— पानीको सेवा दिईरहेका ईसर ट्रक र टाटा योद्धा गाडी जलाउँदा अलिकति हात काँपेनन् ?
यो कामले न त तुलसीपुरको हित भयो, न भविष्य उज्यालो बन्यो । अरुको पसिना रगत लुटेर कहिल्यै प्रगति हुँदैन ।
माओवादीहरूले २०६१ सालतिर पनि यसरी नै मेरो घर लुटेका थिए ! बम हानेर जलाएका थिए ! सात वर्षसम्म जग्गा कब्जा गरेका थिए । त्यसबेलादेखि मेरी आमा निरन्तर बिरामी हुनु भएको छ । त्यो पापको फल आज उनीहरूले पाए ! फेरि त्यही बाटो नयाँ पुस्ताले जेनजीको नाममा दोहोर्याएर अर्को पापको भारी बोक्यौ ।
यो नियतवश, योजनावद्ध, भीडमा पसेर गरिएको अपराध हो ! एक निस्कलङ्क, गरिखाने चेलिको रगत पसिना चुसेर गरिएको महापाप ।
जब जब मेरो गीत “तुलसीपुरमा म जाँदाखेरि“ बज्नेछ, तिम्रा लुट्ने हात काँप्नेछन् । तिमीहरू पश्चात्तापले चिरिनेछौ । यो देश बाँकी रहने छ कानुनी शासन चल्ने छ र तिमीहरू कानूनको कठघरामा उभिनुपर्नेछ ! जवाफ दिनुपर्नेछ !
मेरो पसिना खरानी बनाएर, घर ध्वस्त पारेर, होटलमा आगो लगाएर तिमीहरूले केवल गल्ती मात्र गरेनौ– महागल्ती गर्यौ । यो पापको परिणाम तिमीहरूले भोग्ने नै छौ ।
आज म स्पष्ट भन्न चाहन्छु– मेरो निष्ठा, मेरो इमान र मेरो सेवाभावमाथि प्रश्न उठाउने जो–कोहीलाई इतिहासले धिक्कार्नेछ । मेरो सपना खरानी बनाउन सकिन्छ तर मेरो आत्मसम्मान र मेरो देशप्रतिको माया खरानी बनाउन सकिँदैन ।
धन्यवाद ।
कोमल ओली